अब यस्ता कागजका तानाशाह बाँकी रहन्नन्

३० माघ, काठमाडौं । नेकपाकी नेत्रृ रामकुमारी झांक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै राज्यविरुद्धको कसुरमा हिजो बिहीबार उनकै निवासबाटै प्रहरीले गिरफ्तार भएकी रामकुमारी झांक्रीलाई प्रहरीले साढे पांच घण्टा प्रहरी अनुुसन्धान महाशाखा मिनभवनमा राखेर छोडेको थियो ।

प्रहरीले गरेको सोधपुछका क्रममा उनले राष्ट्रपति संस्थाप्रति सधैं सम्मान रहेको बताएकी छन् । अनलाईन खबरबाट गरेमने कुराकानीमा पनि उनले राष्ट्रपति संस्थाबारे सम्मान जनाउने तर व्यक्तिको प्रवृत्तिबारे बोल्न नछोड्ने बताइन् । झांक्रीले भनिन्, ‘सम्मानित राष्ट्रपति संस्थाप्रति जहिले पनि मर्यादा छ । व्यक्तिको प्रवृत्तिविरुद्ध हामी सडकमा छौं । लडेर पराजित गर्छौं । हाम्रो उपलब्धिमाथि आक्रमण गर्दै निरंकुशतातर्फ लागेका कार्यकारीको साक्षी बस्ने राष्ट्रपतिलाई त कारबाही हुन्छ ।

प्रस्तुत, झांक्रीसंग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश हामी यहां उर्तान चाहन्छौं ।

पूर्वी सहयोद्धाहरूविरुद्ध देश दौडाहादेखि प्रहरी गिरफ्तारीसम्म खेपिरहनु भएको छ । कतिको थकान महसुस भएको छ ?

भौतिक रूपमा थकाइ लाग्ने त भइरहन्छ तर तानशाहलाई घुंडा टेकाउने आत्मविश्वास छ । तानाशाहहरू दुनियांमा टिकेका पनि छैनन् । ती केही समय उदाएर अस्ताएका छन् । उनीहरूको दुखद् अन्त्य भएको छ । त्यो आत्मविश्वास बांकी छ । राजनीतिक थकाइ छैन ।

यतिका वर्षपछि फेरि आफ्नाहरू विरुद्ध सडक संघर्ष गर्नुपर्दा कस्तो अनुभव भइरहेको छ ?

दुर्भाग्यपूर्ण अवस्था हो । हामी कहिल्यै नखोसिने लोकतन्त्रका लागि लडौं भनेर आह्वान गर्दा विद्यार्थीहरूले यो भनेको के हो भन्थे । हामीले इतिहास सम्झायौं, २००७ सालमा लडेर लोकतन्त्र ल्यायौं, ०१७ सालमा खोसियो । ३० वर्ष लडेर २०४६ सालमा ल्यायौं, फेरि २०५९ सालमा खोसियो । अब चाहिँ नखोसिने लोकतन्त्र सुनिश्चित गर्ने हो । त्यो भनेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हो, जहाँ निर्वाचनको माध्यमबाट जनताका प्रतिनिधि राज्यको उच्च ओहोदामा पुग्छन् । उनीहरू जनताप्रति उत्तरदायी बन्छन् । उनीहरू वास्तवमै जनताका प्रतिनिधि हुनेछन् । त्यो शासन व्यवस्था लोकतान्त्रिक, जवाफदेही र पारदर्शी हुनेछ भने विद्यार्थीहरूलाई आन्दोलनमा प्रेरित ग¥यौं ।

२०६२-०६३ को क्रान्ति पूरा गर्दा हाम्रो पुस्ता फ्रन्टलाइनमा थियो । निर्णायक तहमा भने हाम्रो पुस्ता थिएन । त्यो बेला लड्दै गर्दा हामीले सोचेका थियौं । जनताका छोराछोरी, तपाईं हामी जस्तै इतिहासले किनारामा पारेका मान्छेहरू मूलप्रवाहमा आउनेछन्, राज्यको उच्च तहमा वा कार्यकारी पदमा पुग्नेछन् । राम्रो नेपाल बन्छ । त्यस्तो संकल्प थियो ।

२०६३ पछिका आठ वर्ष कठिन यात्रा पार ग¥यौं । त्यो विचारधाराको कुरा थियो । कुनै वस्तुलाई कसरी हेर्छौं र कस्तो बनाउंछौं भन्ने लडाइँ थियो मूलतः संसदभित्र । त्यसमा हाम्रो पनि एकखाले पोजिसन भयो होला । २०७२ मा नयाँ संविधान जारी भयो । संविधान जारी हुँदा सबैभन्दा धेरै दीपावली गर्नेमध्ये म पनि थिएं । यद्यपि संविधानमा केही असन्तुष्टि थिए, उहांहरूले पनि असहमति राख्नुभएको थियो । उहांहरूलाई त्यसबेला मैले भनेको पनि थिएँ । सहमति र विमतिका बीच संविधान जारी भएपनि हामी एकैठाउंमा छौं । संविधानले समाजवादमा जाने ढोका खोलेको छ । प्राप्त उपलब्धि संस्थागत गरेर अझ अगाडि बढ्न सकिन्छ भन्नेमा उहांहरू पनि सहमत हुनुहुन्थ्यो ।

तर हिजो बिहीबार भएको मेरो गिरफ्तारीले ती दिन पनि सम्झाइदिएको छ । हुन त मलाई सामाजिक सञ्जालमा खड्गप्रसाद ओलीले तयार पारेका साइबर स्यालहरूले आक्रमण गरेको आज मात्रै होइन । मैले गएको वर्ष सार्वजनिक खर्च कटौती गरौंभन्दा ममाथि आक्रमण भयो । अहिले त हामी वारपारको लडाइँमा छौं । देशभर हिंडिरहंदा मेरो क्रियाको प्रतिक्रिया भइरहेकै थियो । तर यो तहसम्म पुग्छन् जस्तो चाहिं लागेको थिएन ।

मैले आफ्नो अभिव्यक्ति स्वतन्त्रताभित्र रहेर भनेकी थिएं, राष्ट्रपति संस्था नेपाली जनताको शीर हो, यो संस्थाप्रति सधैं सम्मान छ । तर त्यहां जाने पात्र र प्रवृत्तिविरुद्ध प्रश्न उठाइन्छ । आवश्यक प¥यो भने परास्त पनि गरिन्छ । यो त भन्दै आएकै कुरा हो । यो विषयमा मलाई निशाना बनाएर पक्राउ गरे । एउटा तानाशाह ढल्ने बेला अन्तिम प्रयास जस्तो
लाग्छ ।

पक्राउ परेको पाँच घण्टासम्म केके भयो ?

त्यस्तो केही भएन । चार वटा प्रश्न सोधिएको थियो । तपाईं त्यहाँ कार्यक्रममा गएको हो वा होइन ? मैले हो भनेँ । तपाईंका विरुद्ध यस्तो । यस्तो आरोप छ भनियो । मैले होला, ती मान्छेको हुन् थाहा छैन भनें । बोलेको हो, होइन भनियो । मैले हो भनें । राष्ट्रपति संस्थाप्रति जहिल्यै सम्मान छ । हिजो पनि थियो, आज पनि छ, भोलि हुनेछ, त्यो संस्था हामीले नै लडेर ल्याएका हौं । तर प्रत्येक व्यक्ति र संस्थाले सम्मानित हुनुलाई संविधान, कानुन पालना गर्नुपर्छ । मैले सडकमै पनि यही भन्ने गरेकी छु । हाम्रो राजनीतिक उपलब्धिमाथि आक्रमण गर्ने, निरंकुश बन्ने कार्यकारीको साक्षी बस्ने राष्ट्रपतिलाई त कारबाही हुन्छ भनेकी छु ।

कारबाही राष्ट्रपति संस्थालाई होइन, निरंकुशताको साक्षी बस्ने व्यक्तिलाई हुन्छ । संस्था कारबाहीमा प¥यो भने त राजशाही जस्तो शासन व्यवस्था हुन्छ ।

भनेपछि विद्यादेवी भण्डारीविरुद्ध बोल्न छोड्नुहुन्न ?

उहाँहरू सच्चिने सम्भावना छैन । संविधान र कानुनको दायरामा आउनुहुन्छ भने जनतालाई सार्वजनिक हिसाबले भन्नुपर्छ । किनभने, उहाँहरू जनताप्रति उत्तरदायी हुनुपर्छ । त्यसो हुँदा कुनै आपत्ति भएन । अन्यथा, उहाँहरू राजा ज्ञानेन्द्र जस्तै सडकको जनउभारको कारबाहीमा पर्नुहुन्छ ।

राष्ट्रपतिमा महिला हुनुहुन्छ । उहांलाई तपाईंले अप्ठ्यारोमा पार्नुभयो पनि भनिँदैछ नि ?

राष्ट्रपति अभिभावकीय संस्था हो । कानुनले निर्माण गरेको वैधानिक व्यक्ति हो । त्यहाँ आसिन हुनेले संविधान र कानुन अनुसार मर्यादा पाउँछ । त्यहाँ महिला भएबापत छुट्टै, दलित भएबापत छुट्टै मर्यादा हुंदैन । त्यहाँ बस्ने कि शासक हुन्छ कि त संविधानको पालक र जनताका सेवक हुन्छ । विद्यादेवी भण्डारी शासक बन्न खोज्दै हुनुहुन्छ ।

तर, राष्ट्रपति भण्डारीको राजनीतिक उदयबारे तपाईंले दिएको अभिव्यक्तिमा बढी आपत्ति भएको देखिन्छ । लैङ्िगक संवेदनामा ध्यान दिनु भएन कि ?

म आफैं महिला, लैङ्गिक संवेदनालाई बेवास्ता गरेर आफ्नै बारेमा गलत कुरा त गर्दिनँ होला नि । प्रधानमन्त्रीका हरेक गलत कदमको साक्षी किनारा मात्र होइन, प्रमाणितकर्ता बनिरहनुभएको छ, राष्ट्रपति । उहां एउटा व्यक्तिप्रति यति धेरै जिम्मेवार अनि देश र जनताका समस्याहरूका बारेमा बेखर बनिरहनुभएको छ । यो सन्दर्भमा विद्या भण्डारी नेताका रूपमा कसरी अगाडि आउनुभयो भनेर बताएको हुं । उहांलाई पहिले सेतो साडी लगाएर जनताकी छोरी भनेर चुनाव जिताइयो । बिस्तारै उहाँले एउटा गुटको संरक्षण गर्नुभयो र पछि त्यही गुटको रक्षाकवज बन्नुभयो । अन्ततः उहाँले संविधानमा हुँदै नभएको अधिकार प्रधानमन्त्रीले प्रयोग गर्दा पनि परामर्श समेत नगरी संसद् विघटन सदर गरिदिनुभयो ।

राजनीति भनेको धेरै ठूलो कुरा हो । राजनीतिक पृष्ठभूमि भएकाले धेरै परसम्म देख्छ । संवेदना प्रयोग गरेर आएकाहरू त्यसैमा खेलिरहन्छन् । उहांले २०७२ सालमा राष्ट्रपति भएपछि अनेमसंघको अध्यक्ष छोड्नुभएन, कार्यबाहक दिनुभयो । गुटप्रति त्यत्रो लोभ देखाउनुभयो । उहाँ साझा नेता बन्छु भनेर आएकै होइन । खड्गप्रसाद ओलीको रोजाइमा परेर राष्ट्रपति बन्नुभयो । माधवकुमार नेपाल, झलनाथ खनालहरूले साथ दिनुभयो । अहिले त्यसैको फल भोग्दै हुनुहुन्छ उहांहरू । हामीले गलत मान्छेलाई राष्ट्रप्रमुख बनाएछौं भन्ने प्रमाणित भएको छ ।

मन्त्रिपरिषद्, न्यायालय, व्यवस्थापिकाको आ(आफ्नै प्रक्रिया छ । मन्त्रिपरिषद्को निर्णय ‘म्याचुअर’ हुन ७२ घण्टा लाग्थ्यो, अहिले २४ घण्टा बनाइएको छ । सर्वोच्चमा कुरा उठेपछि मात्र संसद् विघटन प्रकरण राजपत्रमा छापेर लैजानुभयो । यति साह्रो फर्जी काम गर्ने खड्गप्रसाद ओली र यसको साक्षी विद्या भण्डारी । यसले उहांलाई कहां ठीक देखायो ? कसरी सबैको अभिभावक देखायो त ?

राष्ट्रपतिलाई महाभियोग लगाएर अहिले हटाउने, भोलि हटाउने भन्ने तयारीको परिणाम पनि भनिंदैछ नि ?

महाभियोग लगाउने सम्बन्धमा औपचारिक अनौपचारिक तयारी भएको जानकारी मलाई छैन । त्यो भएकै थिएन । संसद् विघटन गर्नुअगाडि यस्तो आक्रोश पनि थिएन ।

प्रधानमन्त्रीले जे भन्नुपर्छ मलाई भन्नुहोस्, राष्ट्रपतिलाई नभन्नुहोस् । यसले गणतन्त्रलाई कमजोर बनाउंछ भन्दै हुनुहुन्छ । तपाईंचाहिं किन राष्ट्रपतिलाई नै भन्नुहुन्छ ?

विद्यादेवी भण्डारी नेपाली गणतन्त्रको प्रतीक होइन, राष्ट्रपति मात्र हो ।

गणतन्त्रलाई कमजोर पार्न राष्ट्रपतिविरुद्ध खनिने काम भइरहेको प्रधानमन्त्रीको अर्को भनाइ छ । यसमा के भन्नुहुन्छ ?

गणतन्त्रलाई कमजोर पार्न उहाँ आफैं निरन्तर लागिरहनुभएको छ । उहांका वकिलहरूले भन्दैछन् उहांसँग त श्री ३ को, श्री ५ को अधिकार छ । उहां गणतन्त्रको प्रधानमन्त्री होइन, राजा हुन खोजिरहनुभएको छ । उहांलाई संविधान, दल केही चाहिएको छैन । उहांले संघीय गणतन्त्र नेपालका सम्माननीय राष्ट्रपति संस्थालाई संसदमा ‘मेरो सरकार’ भन्न लगाउनुभयो । त्यसको पनि म कटु आलोचक थिएं ।

तपाईंहरूको आन्दोलन प्रधानमन्त्री फेर्नलाई मात्र होइन भनेर जनताले कसरी विश्वास गर्ने ?

आजको मूल समस्या यही हो । खड्गप्रसाद ओलीलाई त हटाउंछौं तर त्यो प्रवृत्ति हटाउन सक्छौं होला त ? गणतन्त्र ल्याएर कस्ता(कस्ता मान्छेलाई प्रतिष्थापित गरेका रहेछौं त ! त्यसैले, खड्गप्रसाद ओलीको प्रतिगमनविरुद्ध लड्दै गर्दा व्यक्ति मात्र नभएर यस्तो प्रवृत्ति पनि अन्त्य हुने गरी संस्था, संस्कार सुुनिश्चित गर्नपर्ने भएको छ । यसमा जनतालाई कसरी विश्वास दिलाउनुहुन्छ भनेर हाम्रै दुई अध्यक्षप्रति पनि मेरो प्रश्न छ ।

आन्दोलन सफल हुनेमा कति विश्वस्त हुनुहुन्छ ?

प्रधानमन्त्रीसंग सेटिङको भ्रमबाहेक अरू केही छैन । अब त्यो पनि च्यातचुत हुन्छ । उहांको उदय नै पारदर्शी थिएन । निर्वाचनपछि उहां राष्ट्रपतिले दिएको नियुक्तिपत्र गोजीमा बोकेर धुम्बाराही जानुभयो । त्यसपछि बल्ल माधव नेपालको प्रस्ताव र प्रचण्डको समर्थनमा संसदीय दलको नेता हुनुभयो । त्यसपछि प्रधानमन्त्रीबाट शेरबहादुर देउवाको राजीनामा आयो ।

त्यसैबेला मलाई यसरी कुनै व्यक्तिलाई निर्विकल्प नेतृत्वका रूपमा छोड्नुहुंदैन, कसै न कसैले उम्मेदवारी देओस् भन्ने लागेको थियो । तर उहांहरू मिलेपछि कसैले हिम्मत गरेनन् । त्यसरी राज्यका महत्वपूर्ण अंगहरू आफ्नो मातहत ल्याउनुभयो । राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण, समाज कल्याण परिषद्हरू प्रधानमन्त्री कार्यालयमा तान्नुभयो । न्यायालय, अख्तियार, मानवअधिकार आयोगहरूमा सेटिङ गर्न थाल्नुभयो । अनेक बहानामा राष्ट्रपतिलाई दोहो¥याउने, प्रचण्डलाई फकाउने काम भए । राष्ट्रिय सभा अध्यक्षमा आफ्नो वफादारलाई लगेर राखे । कृष्णबहादुर महरा प्रकरणपछि सभामुखमा पनि आफ्नो मान्छे राख्ने प्रयत्न भएकै हो । यसरी राज्य कब्जाको योजना अगाडि बढाइयो ।

यति धेरै शक्तिशाली बनिसकेका प्रधानमन्त्रीविरुद्ध लडेर जित्ने आत्मविश्वास छ ?

अब यस्ता कागजका तानाशाह बाँकी रहन्नन् । सबै कुरा हातमा लिएको तानाशाहले मलाई नै ६ घण्टा पनि थुन्न सकेन । नेताहरूले कडा प्रतिक्रिया दिन थालेपछि, नागरिक समाज बोलेपछि, मिडियाले मुद्दा बोकेपछि र जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो उड्यो ।

अनलाइनखबरबाट