कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग पराजित

२९ माघ, काठमाडौं । कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग पराजित भएको छ । बुधबार राति भएको खेलमा सेभियाले बार्सिलोनालाई २–० ले पराजित गरेको हो ।

सेभियालाई जीत दिलाउन जुलेस कोउन्डे र बार्साका पूर्व खेलाडी इभान र्याकिटिचले गोल गरे । पहिलो हाफमा कोउन्डेले आफ्नो पेनाल्टी एरियाबाट बललाई अघि बढाउँदै बार्सिलोनाका चार खेलाडीलाई छलाएर उत्कृष्ट गोल गरे । र्याकिटिचले दोस्रो हाफको अन्त्यमा गोल गर्दै सेभियाको जीत सुनिश्चित गरे ।

खेलको अन्त्यतिर लियोनेल मेस्सीको प्रहारलाई सेभियाका गोलकिपरले बचाऊ गरेका थिए । जुलेन लोपेटेगुईको टोलीले अब ३ मार्चमा क्याम्प नाउमा दोस्रो लेग खेल्नेछ । दोस्रो सेमिफाइनलमा एथ्लेटिक बिल्बाओ र लेभान्ते भिड्ने छन् ।