२६ औं मानव अधिकार पुरस्कार डा.रुपचन्द्र विश्वकर्मालाई प्रदान

२७ माघ, काठमाडौं । मानवअधिकारवादी योद्धा स्व.प्रकाश काफ्लेको २८ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २६ औं मानव अधिकार पुरस्कार डा.रुपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ । डा.विश्वकर्मालाई २६ औं मानवअधिकार पुरस्कार २०७६ प्रदान गरिएको हो ।

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका– ५ का स्थायी बासिन्दा डा.विश्वकर्मा बाजुरा जिल्लाको नागरिकको स्वास्थ्य सेवामा सर्मपित व्यक्तित्वको रुपमा परिचित रहेका छन् । विगत ३ वर्षदेखि बाजुरा जिल्लामा रहि नागरिकको स्वास्थ्य सुधारका लागि पहलकदमी लिँदै दुर्गम जिल्लामा बसी स्वास्थ्य सेवा सुधार र विपन्न वर्गको पहुँच अभिवृद्धिको काम गरिएको भन्दै उनलाई सम्मान गरिएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।

३ वर्षअघि बाजुरा विमानस्थलमा भएको हवाई दुर्घटनाको घाइतेलाई उद्धार गरी सुविधा सम्पन्न अस्पताल लैजाने क्रममा जहाजभित्रै आपतकालिन उपचार गरी घाईतेलाई बचाएपछि उनको चर्चा देशभरी भएको थियो । सम्मान पछि डा.विश्वकर्माले यो सम्मान आफ्नो मात्रै सम्मान नभई बाजुरा जिल्लामा बस्ने सम्पूर्ण स्वास्थ्यकर्मी र अस्पतालको नै सम्मान भएको बताए ।

कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक अध्यक्ष सुशील प्याकुरेलले पहिले आर्थिक, सामाजिक अधिकारको कुरा गर्दा प्रजातन्त्र, लोकतन्त्रवादी हुँदैनन् भन्ने जमानालाई तोड्दै आफुहरु मानवअधिकारको क्षेत्रमा अघि बढिरहेको बताए । इन्सेकले मानवअधिकारको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।