२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पछि दुई धारमा बिभाजित पछि त्यसको बिरुद्धमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको छ । चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरहरुको समर्थन खोजिएको शीर्ष नेताहरुले बताए ।
भोलि काठमाडौंमा बृहत आमसभा गर्दैछ सो समूहले । त्यसको अघिल्लो दिन अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्षद्वय प्रचण्ड र नेपालले संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथि कै प्रहार भएको बताएका छन् ।
नेपालमा लोकतन्त्रको हत्या भइरहेको भन्दै प्रचण्डले अघि भने, ‘नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ । लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन हामीलाई चाहियो भनेर औपचारिक अपील गरेका छौं । अलग–अलग भेटेर कुरा गरेका छौं । अन्तर्राष्ट्रिय समुदायसँग छिट्टै संयुक्त छलफलसमेत हुनसक्ने उनले सुनाए ।
छलफलका क्रममा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिंदै प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘संविधानभन्दा बाहिर गएर असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको निर्णयलाई सदर गर्छ भन्ने लागेको छैन ।
उनले अघि भने, ‘जहांसम्म त्यस्तै भयो भने के हुन्छ ? प्रश्न तपाईंहरुको छ, म अहिले धेरै त भन्दिनँ । तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक नै
हुन्छ ।
प्रचण्डले प्रधानमन्त्री निकट मानिसहरुले ‘सेटिङ भइसकेको छ, सर्वोच्च र निर्वाचन आयोगले हामीले भनेअनुसार नै निर्णय गर्छ’ भनेर तलसम्म प्रचार गरेपनि त्यस्तो हुंदैन भन्ने विश्वास व्यक्त गरे । उनले अघि भने, ‘सर्वोच्च अदालत, निर्वाचन आयोग संवैधानिक व्यवस्थाअनुसार आफ्नो काम स्वतन्त्र ढंगले गर्छन् भन्ने हाम्रो विश्वास छ ।
‘यदि सेटिङ नै हो रहेछ भन्ने गरी निर्णय भयो भने के गर्नुहुन्छ भन्ने प्रश्न हो भने हामी गम्भीर ढंगले सोच्छौं । त्यो निर्वाचनलाई सहज ढंगले लिनसक्ने स्थिति हुंदैन । हामीलाई नैतिक र राजनीतिक ढंगले पनि निकै ठूलो प्रश्न खडा हुन्छ’ प्रचण्डले भने ।
आफूहरु निर्वाचन विरोधी नभएको भन्दै उनले शान्तिपूर्ण प्रतिस्पर्धा, आवधिक निर्वाचन र स्वतन्त्र न्यायपालिकामा आफूहरुको प्रतिवद्धता रहेको र शान्ति सम्झौता पछि पटकपटक निर्वाचनमा सहभागी भएर त्यसलाई सावित गरिसकेको उनले बताए ।
एक–डेढ वर्षपछि आम निर्वाचन हुने भएकाले आफूहरुले तयारी गरिसकेको भन्दै प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टी निर्वाचनबाट भाग्ने वा निर्वाचन विरोधी हुनै सक्दैन । तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले जबर्जस्ती निर्वाचन भनियो भने हामीले जे मुद्दा बनाएर सडकमा छौं, त्यतिबेला असंवैधानिक र अलोकतान्त्रिक निर्वाचनबारे गम्भीर रुपमा विचार गर्नैपर्छ ।’
यद्यपि ओलीले निर्वाचन गराउन खोजेका हुन् भन्ने आफूहरुलाई नलागेको उनले दाबी गरे । ‘अब त वैशाखमा चुनाव हुन सक्दैन भन्ने लगभग पुष्टि भइसक्यो’ प्रचण्डले अघि भने, ‘अदालतमा चलेको बहस तपाईहरुले हेर्नुभएकै छ, निर्वाचन आयोगको काम पनि देख्नु भएको छ, दलहरुको पनि । त्यसकारण यदि प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश कदमलाई सदर गरियो नेपाल निक्कै ठूलो राजनीतिक भूमरीमा पर्छ ।