२७ माघ, काठमाडौं । माघ ३० गते सोनाम ल्होछार परेकोले सो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
अस्ति सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयां वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।
यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।
तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसंगै सरकारले यी चांड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर पुस १५ मा मनाइएको तमु ल्होसारको दिन भने सरकारले सम्बन्धित जाती समुदायलाई मात्रै विदा दिएको थियो ।