२६ काठमाडौं । आज साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा उल्लास छाएको छ । आइतबार ४६ अंकले बढेको सेयर बजार सोमबार ३७ अंक भन्दा धेरैले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ४८ अंकले ब ढेर २ हजार ५ सय ६१ दशमलव ४८ अंकमा पुगेको छ ।
यो नेपाली सेयर बजारको हालसम्मकै उच्च अंक हो । आइतबारमात्रै नयाँ किर्तिमान कायम भएकोमा त्यसलाई तोड्दै पुनः नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम पनि १० अर्ब भन्दा माथि पुगेको छ ।
दिनभर भएका ८७ हजार ७ सय ९३ कारोबारबाट २०५ कम्पनीका १ करोड ९१ लाख ६८ हजार ७ सय ६७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १० अर्ब ११ करोड १० लाख ९५ हजार ९ सय ४८ रुपैयाँ पुगेको छ ।
सोमबारको कारोबार हेर्दा लगानीकर्ताहरु अब बैंकतिर आकर्षित भएको देखिन्छ । लघुवित्तका लगानीकर्ताहरुले धेरै कमाउदा बैंकतर्फ पनि राम्रै सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै मूल्य बढ्नेमा बैंकिङ समूह पहिलो नम्बरमा देखिएको छ ।यो समूह ३.६५ अंकले वृद्धि भएको छ । दोस्रो नम्बरमा विकास बैंक समूह देखिएको छ । विकास बैंक समूहको सबइन्डेक्स ३.४७ प्रतिशतले बढेको छ । आइतबार निकै बढेको लघुवित्त समूहको सबइन्डेक्स सोमबार भने घटेको छ ।
केहि लघुवित्त कम्पनीका लगानीकर्ताहरुले कमाए पनि समग्रमा यो समूहको इन्डेक्स ३१.४२ अंकले ओरालो लागेको छ ।