Breaking News

केपी ओलीसँग होइन ओलीको प्रवृत्तिसँग लडाइ हो : माधव नेपाल

२६ काठमाडौं । ( नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नयाँनयाँ अवतार देखिए मुलुक सिद्धिने बताएका छन् । आफूनिकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले अहिलेको लडाइँ नै ओली प्रवृत्तिविरुद्ध भएको बताए ।
‘यो लडाइँ केपी ओलीसँग होइन, ओली प्रवृत्तिविरुद्ध हो । तर, हामीसँग पनि केपी प्रवृत्ति नै रह्यो भने हामी र केपी ओलीबीच कुनै फरक हुनेछैन । त्यही तौरतरिका अपनाऔं भने हामी पनि केपी ओलीको अर्को अवतार हुन पुग्नेछौं’, नेपालले भने ।
कसैलाई पनि कित्ताकाट गर्ने र जबर्जस्त अर्को समूहतिर धकेल्ने काम गर्नुलाई अध्यक्ष नेपालले ओली प्रवृत्ति भनेका थिए । ‘केपी ओलीको नयाँनयाँ अवतार चाहिएको छैन । एउटै केपी ओलीबाट आजित भइसक्यौं केपी ओलीको नयानयाँ अवतार आयो भने यो देश थिलथिलो भएर सिद्धिन्छ उनले भने ।
ओली प्रवृत्तिको पुनरावृत्ति गर्न नभएर देश र लोकतन्त्रले जित्नुपर्ने अध्यक्ष नेपालले बताए । ओलीमा पञ्च रवैया कायमै रहेको पनि उनले बताए । नेपालले ओलीलाई ‘नेकपा ओली बा’ पार्टी खोल्न पनि सुझाव दिए । ‘ओली बा समूह खोले हुन्छ । बा मन पराउनेहरु त्यही जान्छन अध्यक्ष नेपालले बताए ।