२६ काठमाण्डौ । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियू क्रान्तिकारीको शैक्षिक हड्तालले सोमबार दाङसहित साबिक राप्तीका पाँच जिल्लाका शैक्षिक संस्थामा पठन(पाठन प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाको घोराही, तुलसीपुर, लमहीका सरकारी तथा निजि सस्थाहरु बन्द भएको जनाएको छ । बिहानै पढ्न हिँडेका बिद्यार्थिहरु विद्यालय बन्द भएका कारण फर्किएको प्रहरीले बताएको छ ।
रूकुम पश्चिममा अखिल (क्रान्तिकारी) का नेता पक्राउ परेको विरोध विप्लव समूहले दाङसहित साबिक राप्तीका सल्यान, प्यूठान, रोल्पा, रूकुममा एकदिने शैक्षिक हड्तालको घोषणा गरेको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २४औं जिल्ला सम्मेलन आयोजक समिति दाङका संयोजक अनिल केसीले विज्ञप्ति प्रकाशित गर्दै सोमबारको शैक्षिक हड्तालबारे बताएका थिए ।
केसीले आफ्नो संगठनका रूकुम पश्चिम जिल्ला अध्यक्ष प्रेम बोहोरा, कोषाध्यक्ष धनबहादुर वलीलगायत सर्वसाधारण सागर बुढा, अभिषेक बुढा र किरण रसाइलीलाई आफनै कोठामा बसेर अध्ययन गरिरहेका बेला गिरफतार गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले पक्राउ गरिएका सबैलाई बिना सर्त रिहा गर्न माग गर्दै त्यसो नगरिए कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन ्।