नारायणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माणको काम सुरु

 

२५ चितवन । नारायणगढ–मुग्लिनमा फराकिलो सडक तर साँघुरा र जीर्ण पुलका कारण दुर्घटनाको खतरा बढेपछि नारायणगणगढ मुग्लिङ सडकखण्डमा पुल निर्माणका काम धमाधम सुरु भएको छ ।
३६ किलोमिटर लामो यस सडकखण्डमा १९ वटा पुल छन् । ती मध्ये तीनवटा नयाँ पुल बनिसकेका छन् भने, जलबीरेको पुल निर्माणको अन्तिम चरणमा छ । पहिलो चरणमा चार र पछिल्लो चरणमा १५ पुल बनाउने प्रक्रिया अन्तर्गत बाँकी १५ पुलको ठेक्का भई धमाधम पुल बन्ने क्रम सुरु भएको छ । दोस्रो चरणका १५ मध्ये ४ पुल निर्माणले गति लिएको छ । बाँकी ११ वटा पुलको डिजाइन स्वीकृती अन्तिम चरणमा छ ।
गत चैतमा ३३ महिनाभित्र १५ पुल निर्माण सक्ने गरी अनक कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भए लगत्तै कोभिडका कारणले काम अघि बढ्न सकेको थिएन ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर सविना रानाभाटका अनुसार सेती दोभान, खहरे, जुगेडी र डुम्रे भन्ने ठाँउमा पुलको काम धमाधम भइरहेको छ । सेती दोभान फाउन्डेसनको काम सकिएको छ ।
१५ वटा पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको हो । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, किसिन्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान गरी आठ पुल छन् ।
प्याकेज १ को कुल ठेक्का रकम ६७ करोड ९९ लाख रुपैयाँ छ । पुलका लागि मात्र ५८ करोड ४० लाख रुपैयाँ छ भने बाँकी रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुनेछ ।दोस्रो प्याकेजको कुल ठेक्का रकम ५९ करोड पाँच लाख रुपैयाँमध्ये पुलका लागि ४९ करोड ६० लाख रुपैयाँ हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो ।
रानाभाटका अनुसार सबै पुल २५ मिटरभन्दा लामो छन् । यो खण्डमा २५ देखि ७५ मिटरसम्म लामो पुलहरु बन्नेछन् । पुलको चौडाइ सडकसँग मिल्ने गरी ७ मिटरदेखि ११ मिटरसम्म हुनेछन् । त्यस बाहेक दुवैपट्टी डेढ मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ । हाल ती पुलहरू छ मिटर हाराहारी फराकिला छन । पुल सानो हुँदा दुर्घटना नहोस् भनेर पुलको दुवैं तर्फ रम्बल स्ट्रीप राखिएको छ । विस्तार गरिएको सडक भने नौदेखि ११ मिटर फराकिलो छ ।