२० माघ, काठमाडौं । भारतले बाटो विस्तार गर्ने क्रममा पहिरो खस्दा दार्चुलामा महाकाली नदी थुनिएको छ ।
प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार अपराह्न माल्पा भन्ने ठाउँमा पहिरो खसेको हो ।
‘बाटो विस्तार गर्दा ठूलो मात्रामा ढुंगा(बालुवा(गिट्टी नदीमा खसेको छ ।
भारतीय पक्षले त्यहाँ पहरो भत्काउन ब्लाष्ट गरेको हुनसक्ने आशंका गरिएको छ ।
पहिरो खसेको नेपालपट्टि दार्चुलाको ब्यास गाउँपालिका(२ नम्बर वडा पर्छ ।
पहिरोले नेपाल तथा भारतपट्टि नदी थुनिएको पोखरेलले बताए ।
नेपाल र दुबै पक्षका सुरक्षाकर्मीहरू पहिरो हटाउन लागिपरेको उनले बताए ।
महाकाली नदी थुनिएपछि कञ्चनपुर प्रशासनले नदी आसपासका क्षेत्रमा सतर्कता बढाउन अनुरोध गरेको छ ।
साँझ प्रशासनले सूचना जारी गरी छेउछाउका बस्ती तथा पुल बनाउन काम गरिरहेका मजदुरहरूलाई सतर्कता अपनाउन भनेको छ ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, ‘महेन्द्रनगर(दोधारा जोड्ने पुल बनिरहेको छ, त्यहाँका कामदारलाई सुरक्षित हुन भनेका छौं, पानीको बहाव बढेर छेउछाउका बस्ती जोखिममा पर्ने भएकाले मानिसहरूलाई सतर्क रहन भनिएको छ ।
कञ्चनपुर प्रशासनले सम्भावित क्षतिलाई मध्यनजर गरी विपद व्यवस्थापनको टिमलाई तयारी अवस्थामा राखेको छ ।