खानेपानी मन्त्री मणी थापाले भनिदिए त श्री ५ को सरकार

१७ माघ, सुर्खेत । केपी ओली समूहको पार्टीको कार्यक्रममा सुर्खेत पुगेका खानेपानी मन्त्री थापाले सम्बोधनका क्रममा नेपाल सरकारको सट्टा श्री ५ को सरकार भनेर सम्बोधन गरेका छन् ।

उनले नेपाल सरकार भन्नुको सट्टा श्री ५ को सरकार भनि सम्बोधन गरेपछि उनको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

सम्बोधनको सुरुमा ’सुर्खेतका जनसमुदायहरूलाई स्वागत गर्दछु’ भने। त्यसपछि थापाले, ’सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ । यहाँ उपस्थित सुर्खेतका जनसमुदायहरूलाई नेकपा स्थायी कमिटी र श्री ५ को सरकारबाट स्वागत गर्न चाहन्छु,’ भनेका थिए ।

मञ्चमा बसेकाहरुले गलत बोलेको भनेपछि उनले ’ए सरी नेपाल सरकारको तर्फबाट’ भनेर बोली सच्याएका थिए । मन्त्री थापाले सम्बोधनका क्रममा अरु केही कुराहरु पनि थपे ,’०६५ मा गणतन्त्र आएपछि श्री ५ सरकार भन्ने चलनको अन्त्य भएर नेपाल सरकार भनिँदै आएको छ । ’नेपालमा २००७ सालदेखि राजनीतिक क्रान्तिको चरणमा हामी थियौं, नेपाल राजनीतिक चरणबाट आर्थिक चरणमा प्रवेश गरेको थियो ।’ उनले थप्दै गए ’नेपाली जनताले आफनै देशमा बास,गाँस, कपास पाउनुपर्छ । जनताले आफनै देशमा शान्ति सुरक्षा, शिक्षा तथा रोजगारी पाउनुपर्छ । आर्थिक समृद्धिमा आफूहरु जसरी पनि पुग्नु पर्छ । अब यहाँ पूर्वएमाले, पूर्वमाओवादी छैनन्, अब यहाँ नयाँ कम्युनिष्ट पार्टीको गुण छ । नयाँ आन्दोलनको गुण छ ।’

अझ उनले प्रचण्ड र माधव नेपालले देशलाई अस्थिरतातर्फ लैजाने कोसिस गरिरहेको आरोप समेत लाउन भ्याए । यद्यपी, आफुलाई मन्त्री पद दिलाएको भएर होला प्रधानमन्त्री ओलीको भने खुलेर तारिफ गरिरहे र भने ,‘देशलाई ‘कू’को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोजे । अब चुनावको विकल्प बाहेक अरु छैन जस्ता भाषण गरेका थिए ।