वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संविधानसभा अध्यक्ष नेम्वाङले बोली फेरेको भन्दा प्रधानन्यायधीश जबराले रोक्दै यो कुरा टिपोटमा राखेैं

१४ माघ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा भएको संसद विघटनको व्यवस्थाबारे दिएको अभिव्यक्ति टिपोटमा राखेको बताएका छन् ।

संसद विघटनका विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संविधानसभा अध्यक्ष नेम्वाङले बोली फेरेको बताएका थिए । त्यस क्रममा जबराले ‘त्यो कुरा आइसकेको छ, हामीले टिपोटमा राखेका छौं’ भन्दै केसीलाई रोकेका थिए ।

संविधानसभाका अध्यक्ष नेम्वाङले विगतमा नयाँ संविधानको विशेषताबारे धारणा राख्दा सरकार बन्ने विकल्प हुँदासम्म संसद विघटन हुन नसक्ने व्यवस्था राखिएको अभिव्यक्ति दिएका थिए । तर हाल उनले यो विषयमा सर्वोच्चको फैसलापछि मात्र बोल्ने अभिव्यक्ति दिँदै आएका छन् ।

वरिष्ठ अधिवक्ता केसीले अहिले धेरै नेपाली संसद विघटनको विरोधमा रहेको र संविधान असफल हुने चिन्ता भइरहेको बताए ।

तर प्रधानन्यायाधीशले उनलाई रोके, ‘बाहिर के भइरहेको छ, छोडिदिनुस्, यो मुद्दा लम्बिदै गयो भने बाहिर यस्ता क्रियाकलाप अझै बढ्छ । त्यसकारण यहीँभित्र केन्द्रित होऔं’ प्रधानन्यायाधीश जबराले भने ।