नेकपा प्रचण्ड–माधव समूहले काठमाण्डौको माइतीघर मण्डलामा धर्ना

१४ माघ, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहले दोस्रो चरणको अन्दोलन अन्तर्गत आज काठमाण्डौको माइतीघर मण्डलामा धर्ना दिएको छ ।

नेकपा प्रचण्ड–माधव समूहका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले संसद विघटनको विरोधमा बुधबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउन दबाव दिने उदेश्यले धर्ना बसेको बताइन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाइ छ ।

धर्नामा बसेका अर्का नेता हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आमजनता धर्नामा बस्नुपर्ने अवस्था आएको बताए । संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको उनको भनाइ छ ।

नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । संसद विघटनको विरोधमा शनिबा बाहेक माघ २१ गतेसम्म प्रत्येक दिन २ घण्टा धर्ना बस्ने कार्यक्रम रहेको सो समूहले जनाएको छ ।