सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो

१३ माघ, काठमाडौं । सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । डिम्याट खाता प्रयोगकर्ता नै २६ लाख नाघिसके ।

सेयर बजारमा दुईवटा बजार हुन्छ( प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक वा सिधै दोस्रो बजार प्रवेश गरेर सेयर कारोबार गर्न सकिन्छ । कुनै कम्पनीद्वारा सर्वसाधारणका लागि जारी साधारण सेयर (आईपीओ) किन्न आवेदन दिनु प्राथमिक बजारमा प्रवेश गर्नु हो । दोस्रो बजारको तुलनामा प्राथमिक बजार धेरै सुरक्षित मानिन्छ ।
पछिल्लो समय आवेदक संख्या बढ्दा आईपीओ पर्ने सम्भावना पनि कम हुँदै गएको छ । आज, प्राथमिक बजारकै विषयमा विस्तृत चर्चा गरौँ :

संस्थापकहरुले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि ऋण खोजिन्छ र साधारण सेयर जारी गरिन्छ । साधारण सेयर सर्वसाधारणबाट उठाइएको सेयर लगानी हो । सामान्यतः १ कित्ता सेयरको मूल्य १०० हुन्छ । अहिले न्युनतम १० कित्ताको लागि आवेदन दिन पाइने व्यवस्था छ ।

पछिल्लो समय आईपीओ जारी गरेको चन्द्रागिरि हिल्स लिमिटेडको १ लाख ३९ हजारभन्दा धेरै जनालाई आईपीओ परेको छ । आवेदन भने १२ लाख ५१ हजारभन्दा बढी परेको थियो । १५ लाख कित्ता आईपीओ निस्काशन गरेको कम्पनीले प्रतिनिवेदक १० कित्ताका दरले बाँडफाँट गर्दा १० लाखभन्दा बढी आवेदकको हात खाली भयो ।

हालै जारी नेपाल इन्फ्रा स्ट्रक्चर बैंकले जारी गरेको ८ करोड कित्ता आईपीओ भने सबै आवेदकको हातमा पर्ने पक्का छ । किनभने, यसका लागि १५ लाख ३० हजार जनाले मात्र आवेदन दिएका छन् ।

कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गर्ने गरी जारी गरिएको धितोपत्रलाई पनि साधारण सेयर भनिन्छ ।

साधारण सेयर लगानीकर्तालाई आफ्नो लगानीको मात्राअनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको ‘ओनर’ मानिन्छ । कम्पनीको ‘ओनर’को हैसियतले साधारण सेयरवालाले बढी जोखिम उठाउनुपर्दछ । साधारण सेयरमा दिइने लाभांश दर कम्पनीले आर्जन गर्ने नाफाको घटबढ अनुसार तलमाथि हुन्छ ।

अर्काेतर्फ कम्पनी नाफामा जाँदैमा साधारण सेयरवालालाई लाभांश प्राप्त हुन्छ भन्ने पनि हुँदैन । किनभने, साधारण सेयरमा लाभांश दिनै पर्ने बाध्यात्मक अवस्था हुँदैन । कम्पनी अधिक नाफामा जाँदा भने लाभांश पाउने सम्भावना बढ्छ ।

लाभांशको रुपमा कम्पनीले साधारण सेयरवालालाई बोनश सेयर पनि वितरण गर्न सक्छ । सम्बन्धित कम्पनी खारेजीमा गएको अवस्थामा डिबेञ्चरवाला र अग्राधिकार सेयरवालाहरुलाई भुक्तानी गरिसकेपछि बाँकी रहेको रकम साधारण सेयरवालाहरुले दावी गर्न सक्छन् । यसकारण साधारण सेयरमा गरिने लगानीलाई जोखिमपूर्ण मानिएको हो ।

बढी प्रतिफलको लागि बढी जोखिम उठाउन तयार लगानीकर्ताका लागि मात्र साधारण सेयर जस्तो धितोपत्रको औजार उपयुक्त मानिन्छ । कदाचित सम्बन्धित कम्पनी खारेजीमा गई ठूलो दायित्व व्यहोर्नुपर्ने भएको अवस्थामा पनि साधारण सेयरवालाको दायित्व उनीहरुले लगानी गरेको रकमको हदमा सीमित हुने भएकाले घरघरानाबाट भने व्यहोर्नु पर्दैन ।

सेयर जारी गर्नुअघि कम्पनीहरू नेपाल धितोपत्र बोर्डमा दर्ता हुन्छन् । ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर निस्कासन गर्दा इक्रा नेपालबाट रेटिङ पनि गराउनुपर्छ । लगानीकर्ताले धितोपत्र बोर्ड र इक्रा नेपालको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदैछ भनेर जानकारी लिन सक्छन् ।

कसरी किन्ने सेयर ?

सेयर बजारको सिद्धान्तिकसँगै व्यवहारिक पक्ष पनि बुझ्नुपर्छ । जस्तो(आईपीओ कसरी किन्ने ? पहिलो कुरा त आईपीओ निस्कासन सम्बन्धी समाचारहरु प्रकाशन भइरहेका हुन्छन् । त्यसबाट धेरै कुरा बुझिन्छ ।

धितोपत्र बोर्डले आईपीओ निस्काशन गर्न अनुमति दिएको जानकारी आफ्नो वेबसाइटमै राखेको हुन्छ । आईपीओ जारी गर्नुभन्दा साता दिनअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निस्कासन गर्छन् ।

आह्वानपत्रमा कम्पनीले कुन मितिदेखि, कति सेयर निकाल्दै छ भन्ने जानकारी दिन्छ । आह्वानपत्रमा कम्पनीको कतिसम्म सेयरका लागि कहाँबाट आवेदन सकिन्छ भन्नेदेखि कम्पनीको स्थिति र भावि योजनासम्मका कुरा उल्लेख हुन्छ । आह्वानपत्र राम्ररी अध्ययन गर्दा धेरै जानकारी पाइन्छ।

आईपीओ खरिद गर्न चाहनेको लागि बैंक खाता र डिम्याट खाता अनिवार्य नै हो । डिम्याट खाता कुनै बैंक वा क्यापिटल मर्चेन्ट (बैंक) गएर खोल्न सकिन्छ ।

पैसा बैंक खातामा राखिन्छ भने डिम्याट खातामा सेयर जम्मा हुन्छ । डिम्याट र बैंक खाता खोलिसकेपछि सम्बन्धित बैंकमा गएर सीआस्वा (सीआरएन) दर्ता गर्नुपर्ने हुन्छ । सीआरएन दर्ता गरिसकेपछि ‘मेरो सेयर’ नामक सुविधा लिएर घरमै बसीबसी आईपीओ भर्न सकिन्छ ।

डिम्याट खोलेको बैंक वा क्यापिटलमा मेरो सेयरको फर्म भर्नुभयो भने युजर आईडी र पासवर्ड इमेलमा आउँछ । त्यसकै आधारमा मोवाइल वा कम्प्युटरबाट आईपीओ भर्ने हो ।

आईपीओ सामान्यतः १० कित्तादेखि माथि भर्न पाइन्छ । सेयर भरेअनुसारको रकम तपाईंको बैंक खातामा हुनुपर्छ । सेयर बाँडफाँट हुँदासम्म सेयर आवेदन दिए अनुसारको रकम रोक्का हुन्छ ।

त्यसकारण, आईपीओ भरेपछि बाँडफाँट कहिले हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ । बाँडफाँटपछि तपाईंलाई परेको सेयर स्वतः डिम्याट खातामा आउँछ । जति सेयर पर्यो त्यति बराबरको रकम खाताबाटै काटिन्छ । सेयर परेन भने तपाईको पैसा खातामै जम्मा हुन्छ ।

आईपीओ बाँडफाँट भइसकेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुन्छ । त्यसपछि दोस्रो बजारमा कारोबार हुन्छ । दोस्रो बजारमा बजार मूल्यअनुसार सेयर खरिद गर्न सकिन्छ ।

ध्यान दिनुपर्ने कुराहरु

सम्भावित जोखिमबारे लगानीकर्ता सधैं सचेत रहनुपर्छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई जोखिम नहोस् भनेर बेलाबेलामा विभन्न सूचना पनि जारी गर्छ ।

बोर्डका अनुसार सेयर बजारमा लगानी गर्न चाहनेहरुले यी कुराहरुमा ध्यान दिनपर्छ ः

१. सेयर निस्कासनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा(नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराको विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

२. विवरणपत्र लगायत निस्कासनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणका लागि निस्कासनकर्ता कम्पनी, निस्कासन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त संकलन केन्द्रहरुमा सम्पर्क राख्नुहोस् ।

३. सेयर खरिदका लागि दरखास्त दिएपछि धितोपत्रको बाँडफाँट, फिर्ता भुक्तानी, प्रमाणपत्र प्राप्ति तथा सूचीकरण सम्बन्धमा सजग रहनुहोस् ।

४. धितोपत्रको निस्कासन मूल्यले सूचीकरण पश्चात धितोपत्र विनिमय बजारमा कायम हुन जाने मूल्यलाई नजनाउने हुँदा धितोपत्रको बजार मूल्य परिवर्तनको जोखिमप्रति सजग रहनुहोस् ।

५. धितोपत्रमा गरिने लगानीको जोखिम तपाईं स्वयंले व्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार वा कसैको बहकाउबाट प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

६. आफूले सेयर खरिद गरेको कम्पनीको गतिविधिबारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन नबिर्सनुहोस् ।

७. धितोपत्रमा लगानी गर्दा आफ्नो नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी गरिएको आधिकारीक परिचय प्रस्तुत गरी भविष्यमा परिचय सम्बन्धी विवाद आउन नदिन सजग रहनुहोस् ।

८. धितोपत्रमा लगानी सम्बन्धी तपाईंका जिज्ञासा, शंका वा गुनासाहरु भए धितोपत्र व्यवसायी, धितोपत्र विनिमय बजार तथा धितोपत्र बोर्डमा सम्पर्क राख्नुहोस् ।

अनलाइनखबरबाट