मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष भरतबहादुर बोहरा पक्राउ

१० माघ, काठमाडौं । मन्थली नगरपालिका वडा नम्बर १० का ५१ वर्षीय वडाध्यक्ष भरतबहादुर बोहरालाई पक्राउ । उनलाई एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो

जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले उनलाई आज मन्थलीको चनखुबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाले बताए ।

वडाध्यक्ष बोहराविरूद्ध चिनजानकी ३३ वर्षीया महिलाले गत सोमबार महानगरीय प्रहरी वृत्त, ठिमीमा जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा जिल्ला अदालत भक्तपुरबाट वडाध्यक्ष बोहराविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

ठिमी प्रहरीले फरार रहेका वडाध्यक्ष बोहरालाई पक्राउ गरिदिन रामेछाप प्रहरी कार्यालयलाई पत्र पठाएको डिएसपी ढुङ्गानाले बताए ।

सोही पत्र अनुसार उनलाई पक्राउ गरी रामेछापबाट भक्तपुर ल्याइएको छ।

वृत्तका डिएसपी ऋषिराम कँडेलका अनुसार बोहराले माघ दुई गते राति ती महिलामाथि बलात्कार गरेका थिए।

ती महिला मध्यपुर ठिमी नगरपालिका(३ स्थित एक घरमा डेरा गरी बस्ने गरेको उनले बताए।

वडाध्यक्ष बोहरामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।