Breaking News

प्रतिनिधिसभा विघटनबारे अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ भनेको इजलासमा प्रश्न

११ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनबारे अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ भनेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक इजलासमा प्रश्न उठाएका छन् ।

शुक्रबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक जना बाजेलाई तमासा गर्न लगेछन् भनेका
थिए । आज आइतबार इजलासमा त्यसबारे प्रश्न उठाउँदै त्रिपाठीले भनेका छन्, ‘यो तमासा हो श्रीमान्, हामी तमासा गर्न बसको हौं ?

तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बाहिर भइरहेको कुराबारे चर्चा नगर्न आग्रह गरेका छन् । ‘बजारका कुरामा नजानुस्, आफ्नो विषयमा जानुस्’ उनले भने ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले ‘कुरा सिरियस छ’ भन्दा प्रधानन्यायाधीश जबराले भनेका छन्, ‘सबै कुरा सिरियस छ, तर हामी बाहिर ध्यान मोड्दैनौं । बजारमा कसले कति भनिरहेका छन्, हामीले माइन्ड त्यता मोड्न हुँदैन ।

उनले अघि भने, ‘एक जना मात्र होइन, हाम्रा पूर्व हेर्नुस्, वर्तमान हेर्नुस् । तपाईं आफ्नोमा जानुस् ।
आजै इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोकेका थिए ।