काँग्रेसलाई जसले मुख्यमन्त्री दिन्छ उसैलाई समर्थन

सभापति, शेरबहादुर देउवा

९ माघ, काठमाडौं । नेकपामा देखिएको बिभाजनको असरले बागमती प्रदेश सरकार पनि परिवर्तन हुने खेलसँगै आज बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव छलफलका लागि आज पेश भएको छ । मुख्यमन्त्री बिरुद्ध अविश्वासको पत्र पेश भएसँगै नेपाली कांग्रेस पनि आफ्नो रणनीति बनाउन थालेको छ ।

सभापति शेरबहादुर देउवाले आज बुढानिलकण्ठ आफ्नै निवासमा बरिष्ठ नेता रामचन्द्र पौडेल र बागमती प्रदेशका केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका छन् ।

देउवाले नेताहरूसँग झन्डै दुई घन्टा प्रदेश सभामा अब के रणनीति अपनाउनेबारे छलफल गरेका थिए ।

छलफलमा सहभागी एक केन्द्रीय सदस्यले देउवाले पार्टीलाई पनि फाइदा हुने गरी प्रदेश सभाबारे निर्णयमा पुग्नु पर्नेमा जोड दिएको बताए ।

‘पार्टी हितलाई पनि केन्द्रमा राख्नुपर्छ । जसले मुख्यमन्त्री दिन्छ उसैलाई सहयोग गर्न पनि सकिन्छ । देउवाको उक्त प्रस्तावमा बरिष्ठ नेता पौडेलसहित केन्द्रीय सदस्यहरू नवीन्द्रराज जोशीलगायतले भने फरक मत राखेका छन् ।

देउवाले समग्र रूपमा पार्टीलाई हित हुने गरी सोच्न नेताहरूलाई आग्रह गरेका थिए । केन्द्र र प्रदेशको राजनीति र परिस्थिति फरक भएको तर्क गरेका देउवाले जसले मुख्यमन्त्री दिन्छ त्यही नेकपाको समूहलाई सहयोग गरेर जान सकिने धारणा राखेका थिए ।

बरिष्ठ नेता पौडेलले भने देउवाको यो रणनीतिमा असहमति जनाएका छन्। ओलीका कदमविरूद्ध देशैभर पार्टी आन्दोलनमा रहेकाले बागमतीमा मुख्यमन्त्री पौडेललाई सहयोग गर्न नहुने उनको भनाइ थियो ।

पौडेलको कुरा सुनेपछि देउवाले सम्बन्धित प्रदेशका संसदीय दलका नेतालाई नै निर्णय गर्न सक्ने अधिकार दिनुपर्ने बताएका थिए ।

बागमती प्रदेशमा पौडेलविरूद्धको प्रस्तावमा माघ १९ गतेदेखि छलफल हुँदैछ । कांग्रेसले त्यसअघि नै आफ्नो धारणा बनाउनु पर्नेछ ।

बागमती प्रदेश सभाका ११० सदस्यमध्ये प्रचण्ड(नेपाल समूहका ४५ जना सदस्यले मुख्यमन्त्री पौडेलविरूद्ध हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका २२ सांसद छन् । ओली समूहमा ३५ जना सांसद छन् । दुबै समूहलाई बहुमत पु¥याउन कांग्रेसको साथ नभई हुँदैन ।

नेकपाका दुबै समूहले आफूलाई सहयोग गरे दुईमध्ये एउटामा कांग्रेसलाई नै मुख्यमन्त्री दिने अफर गरिरहेका छन् ।

कांग्रेसका नेताहरू साविक मुख्यमन्त्रीलाई सहयोग गर्ने निर्णय गर्न नहुनेमा छन् ।