बागमती प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव पेश

९ माघ, काठमाडौं । नेकपा दुईधारमा गएसँगै बागमती प्रदेश सरकार संकटमा पर्नुका साथै बागमती प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव पेश भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका ४५ जना सांसदले मुख्यमन्त्री पौडेलमाथि अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अविश्वास प्रस्ताव प्रस्तुत गर्न पहिलो हस्ताक्षरकर्ताका रूपमा सांसद अरूणप्रसाद नेपाललाई अनुमति दिएका छन् ।

सांसद नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो प्रदेश केन्द्रको प्रशासनिक इकाई नभएको बताएका थिए ।

पुस ९ गते अष्टलक्ष्मी शाक्यलाई आफूहरूले संसदीय दलको नेता चयन गरेको उनले बताएका छन् ।

मुख्यमन्त्री पौडेलबाट जनताले ठूलो आशा गरे पनि त्यसअनुसार काम नभएकोले अविश्वास प्रस्ताव दर्ता गरिएको उनको भनाइ थियो ।

इमान्दारितापूर्वक काम गर्ने पक्षमा मुख्यमन्त्री पौडेल नरहेको पनि आरोप उनको थियो । उनले मुख्यमन्त्री पौडेललाई पदमुक्त गरी मुख्यमन्त्रीमा शाक्यलाई प्रस्ताव गरेका छन् ।

यसपछि सभामुख श्रेष्ठले माघ १९ गते दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा अविश्वास प्रस्तावबारे छलफल हुने भन्दै बैठक स्थगित गरेका छन् ।