Breaking News

टी’ आकारमा ‘पुरानो बसपार्क–भद्रकाली सडक र प्रदर्शनीमार्गमा फैलिने गरी विरोधसभा

९ माघ, काठमाडौं । स्पष्ट दुई धारमा देखिएको नेकपाको (प्रचण्ड–माधव) समूहले आज संसद विघटनविरुद्ध गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् ।

गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा गइरहेका देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् । प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएको छ ।

मञ्च व्यवस्थापनको जिम्मा पाएका युवा संघ संयोजक रामप्रसाद सापकोटा (दीपशिखा) ले विरोधसभा ‘टी’ आकारमा हुने बताए । ‘पुरानो बसपार्क–भद्रकाली सडक र प्रदर्शनीमार्गमा फैलिने गरी विरोधसभा हुन्छ,’ दीपशिखाले भने, ‘सभामा सहभागीहरु ‘टी’ आकारमा रहनेछन् ।’ त्यसका लागि सैनिकमञ्च टुँडीखेलको पर्खालसँगै जोडेर मञ्च निर्माण गरिएको
छ ।

यसअघि १२ पुसमा प्रचण्ड–माधव समूहले भृकुटीमण्डप अगाडिको सडकमा विरोधसभा गरेको थियो । आजको विरोधसभाका लागि अति व्यस्त रहने पुरानो बसपार्क–भद्रकाली सडकमै मञ्च बनाइएकाले सो सडकखण्डमा गाडी चलेका छैनन् ।