प्रधानमन्त्री ओली महाप्रतिगमनकारी भएकाले त्यसको अन्त्य निश्चित छ

७ माघ, सप्तरी । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको बिघठन सँगै पार्टी पनि फोरेपछि आजभोलि ओलीको कदमको बिरुद्धमा दिनदिनै प्रदर्शन र बिरोध भइरहेको बेला जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी मात्र नभएर महाप्रतिगमनकारी रहेको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) (ओली समूह) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यसअघि संविधानमा मधेशको अधिकारविना संविधान जारी गरेर प्रतिगमन गरेका थिए भने पछिल्लो समय पुस ५ गते प्रतिगमन गरेको उनले आरोप लगाए । महत्तोले भने, ‘प्रधानमन्त्री ओली महाप्रतिगमनकारी भएकाले त्यसको अन्त्य निश्चित छ ।

संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले सप्तरीको राजविराजमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले लोकतन्त्रलाई धरापमा पार्ने काम गरेकाले ओलीको पतन एकदमै आवश्यक रहेको बताए ।
संविधान निर्माण गर्नेबेला मधेशीको हत्या गर्ने ओली हत्यारा समेत रहेका भन्दै नेता महतोले मञ्चबाटै केपी ओली मुर्दावाद भनि नारा लगाएका थिए । मधेशका लागि कम्युनिस्ट र काँग्रेस उस्तै–उस्तै पार्टी रहेको भन्दै उनले कम्युनिस्ट र काँग्रेसको विकल्पमा जसपा नेपाल गठन भएको धारणा राखे । उनले भने, ‘मधेशी जनतालाई कम्युनिस्ट र काँग्रेसले विभिन्न लोभमा फँसाउने षड्यन्त्र गरिरहेका छन् त्यसमा कुनै पनि हालतमा फस्नुहुँदैन बताएका थिए ।