अरुको जग्गा कीर्ते अभियोगमा उद्योग मन्त्रालयका अधिकृत र कलंकी मालपोत कार्यालयका नासु पक्राउ

७ माघ, काठमाण्डौ । उद्योग मन्त्रालयका अधिकृत र कलंकी मालपोत कार्यालयका नासुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जग्गा कीर्ते प्रकरणमा अधिकृत विनोद दाहाल र नासु नारायण श्रेष्ठलाई पक्राउ गरेको हो ।

दाहाललाई धनगढी जान लागेको अवस्थामा त्रिभुवन विमानस्थल र श्रेष्ठलाई कलंकी मालपोतमाबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

राजधानीको सामाखुसीमा रहेको जग्गालाई नक्कली धनी खडा गरी श्रेष्ठ र दाहालले कीर्ते गरी बेचबिचखन गरेको उजुरीको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । बास्तविक जग्गाधनी विदेशमा रहेको बखत उनीहरुले नक्कली जग्गाधनी खडा गरेर जग्गा बेचेको खुलेको छ ।

प्रहरीका अनुसार मालपोतमै कार्यरत दाहाल केहीअघि मात्रै उद्योग मन्त्रालयमा सरुवा भएका थिए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।