मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन काँग्रेस सर्कुलर

७ माघ, सुर्खेत । नेपाली काँग्रेसले वैशाखमा तोकिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पार्टी जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद विघटन गरी वैशाख १७ २७ का लागि मध्यावधि निर्वाचनको घोषणा गरेका
थिए ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्ला सभापति परिपत्र गरेको खुलेको छ ।

आयोगले १५ माघदेखि २१ सम्म ७५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ ।

१८ वर्ष उमेर पुगेका व्यक्तिको नामावली अद्यावधिकका लागि ७ सय ५३ स्थानीय निकायमा आयोगले पत्र पठाएको
थियो ।

निर्वाचन आयोगले गर्ने मतदाता नामावली प्रकाशन, मतदाताको नाम वा विवरणमा त्रुटि भए सच्याउन निवेदन दिने, झुठो विवरण दिई मतदाता बनेको भए उजुरी दिनेलगायतका कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ ।

त्यसैलाई सहयोग हुनेगरी सहभागी हुन काँग्रेसले परिपत्र जारी गरेको हो । गत साता आयोगले निर्वाचनसम्बन्धी कार्यक्रमबारे दलहरूसँग छलफल गरेको थियो ।

संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै काँग्रेस विरोधमा उत्रिएको काँग्रेसले निर्वाचन सम्बन्धि कार्यमा सहयोग गर्ने परिपत्र गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।