बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तथा कर्जाको ब्याजदर धमाधम सार्वजनिक गर्दै

१ माघ, काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तथा कर्जाको ब्याजदर धमाधम सार्वजनिक गरेका छन् । हिजो मात्रै एक दर्जन हाराहारीमा बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिने तथा आफूले दिने दुबै प्रकारका ब्याजदरहरु सार्वजनिक गरेका छन् ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा अधिक तरलता रहेको कारण कर्जा तथा निक्षेपको ब्याजदर घटेको छ । कर्जाको ब्याजदर घटेका कारण बैंकहरुले निक्षेपको ब्याजदर पनि अत्यन्तै कम दिन थालेका छन् । बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार साधारण निक्षेपमा २ प्रतिशतभन्दा तलसम्म ब्याजदर देखिएको छ । कल निक्षेपमा भने १ प्रतिशत हाराहारीमा ब्याजदर बैंकहरुले तोकेका छन् ।

मुद्धति निक्षेपमा अत्यन्तै कम ब्याजदर देखिएको छ । कर्जाको ब्याजदर पनि बैंकहरुले आफ्नो बेस रेट अनुसार २ देखि ५ प्रतिशतसम्म अतिरिक्त जोडेर लिने गरेका छन् ।

कमर्सियल बैंकहरु

बुधबार ब्याजदर सार्वजनिक गरेको लक्ष्मी बैंकले कर्जामा बेस रेटमा ५ प्रतिशतसम्म प्रिमियम जोडेल लिने बताएको छ । बैंकले सूचनामा जनाए अनुसार यो बैंकको बेस रेट ७.७४ प्रतिशत रहेको छ । यसरी हेर्दा लक्ष्मीको कर्जाको ब्याजदर १२.७४ प्रतिशतसम्म हुनेछ ।

निक्षेपतर्फ भने बैंकले साधारण निक्षेपमा २ प्रतिशत, जनरल निक्षेपमा ३ प्रतिशत दिने उल्लेख गरेको छ । कल निक्षेपमा एक प्रतिशतसम्म ब्याजदर तोकेको लक्ष्मीले मुद्दति निक्षेपमा ७ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।

अर्को सनराइज बैंकले साधारण निक्षेपमा २ प्रतिशतदेखि मुद्दति निक्षेपमा ७ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । घर कर्जामा १०.५० देखि ११.५० प्रतिशतसम्म ब्याजदर लिने उल्लेख गरेको सनराइज बैंकले समग्रमा बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर लिने उल्लेख गरेको छ । यो बैंकको बेस रेट मंसिर मसान्तसम्म ७.२४ प्रतिशत रहेको छ ।

यसैगरी स्टठाण्डर्ड चार्टड बैंकले निक्षेपमा २ प्रतिशतदेखि ६ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । बैंकले कर्जा तर्फ भने बेस रेटमा २ प्रतिशतदेखि ७ प्रतिशतसम्म प्रिमियम जोडेर ब्इाजदर लिने उल्लेख गरेको छ । स्टाण्डर्ड चार्टर्ड बैंकको बेस रेट ६.६१ प्रतिशतमात्रै रहेको
छ ।

एभरेष्ट बैंकले निक्षेपमा २ प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ । कर्जातर्फ एभरेष्ट बैंकले बेस रेटमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर दिने उल्लेख गरेको छ । एभरेष्टको मंसिर समान्तसम्म बेस रेट ६.५० प्रतिशत रहेको छ ।

बिहीबार बैंक अफ काठमाण्डूले पनि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सूचना अनुसार साभारण निक्षेपमा २ प्रतिशतदेखि मुद्दति निक्षेपमा ७ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । कर्जातर्फ भने बैंक अफ काठमाण्डूले बेस रेटमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर लिने बताएको छ । यस बैंकको मंसिर मसान्तसम्म ७.६७ प्रतिशत रहेको छ ।

यस अघि नै नेपाल एसबीआई बैंकले निक्षेपमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्ममात्रै ब्याजदर दिने सूचना सार्वजनिक गरेको थियो । यस बैंकले कर्जामा भने बेस रेटमा अधिकतम् ५ प्रतिशतसम्म जोडेर ब्याजदर लिने बताएको छ । नेपाल एसबीआईको बेस रेट ७.९३ रहेको छ । यद्यपि अवधिअनुसार केही कर्जाहरुमा १४.५० प्रतिशतसम्म यस बैंकले ब्याजदर लिने बताएको छ ।

विकास बैंक तथा फाइनान्स कम्पनी

बुधबार नै केहि विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि आफ्नो ब्याजदर सार्वजनिक गरेका छन् । जसमा मुक्तिनाथ विकास बैंकले साधारण निक्षेपमा १.५० देखि ३ प्रतिशतसम्म र मुद्दति निक्षेपमा अधिकतम् ८ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ । कर्जामा भने बैंकले बेस रेटमा २ देखि ५.५० प्रतिशतसम्म प्रिमियम जोडेर लिने उल्लेख गरेको छ । मुक्तिनाथको बेस रेट ८.७१ प्रतिशत रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले निक्षेपमा ३.५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । कर्जातर्फ भने यस बैंकले आफ्नो बेस रेटमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर लिने उल्लेख गरेको छ । सांग्रिलाको बेस रेट ८.८७ प्रतिशत रहेको छ ।

ज्योति विकास बैंकले मुद्दति निक्षेपमा ८ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । कर्जातर्फ भने यस बैंकले बेस रेडमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर लिने बताएको छ । माइक्रोफाइनान्स कर्जामा भने ७ प्रतिशतसम्म जोडेर लिने उल्लेख गरेको ज्योतिको बेस रेट ९.८६ प्रतिशत रहेको
छ ।

सेन्ट्रल फाइनान्सले निक्षेपमा १.५० देखि मुद्दति निक्षेपमा ८.२५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । कर्जा तर्फ भने यस फाइनान्सले बेस रेटमा ५ प्रतिशतसम्म जोडेर लिने उल्लेख गरेको छ ।