‘केपी ओलीले सडक छाप होइन, धुलोछाप पार्टी बनाउँदै हुनुहुन्छ

अध्यक्ष, माधव कुमार नेपाल

१ माघ, काठमाण्डौ । नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम विषयक अन्तरक्रिर्या कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट बाहिरिन तयार हुनुपर्ने बताएका छन् । उनले भने– ‘काम चलाउ प्रधानमन्त्री मात्र अब उहाँ प्रधानमन्त्री पदबाट बाहिरिन खुट्टा उचालेर बस्दा हुन्छ । केपी ओलीको तानाशाही प्रवृत्तिबाट मुलुक पिल्सिएको उनले बताए । ‘उहाँको तानाशाही प्रवृत्तिबाट कसैले चिच्याउनु पनि पाउनु भएको छैन । हामी निसासिएपछि हामी बोल्न बाध्य भएका हौ । उहाँले आफ्नो पार्टीसँगै प्रतिपक्षीको पनि मान मर्दन गर्नुभएको छ ।

पार्टीमा आफूसँग ७२ प्रतिशत रहेको भन्दै केपी ओलीले विधान विपरित केन्द्रीय संख्या थप्दै गएको नेपालले बताए । ‘केपी ओलीले सडक छाप होइन, धुलोछाप पार्टी बनाउँदै हुनुहुन्छ । त्यहाँ मदन भण्डारी फाउन्डेशन मात्र छ । त्यहाँ पार्टी छैन ।’ ओलीमाथि थप कदम चाल्नुपर्ने अवस्था आएको र आजको बैठकमा गम्भीर छलफल हुने नेपालले बताए । उनले संवैधानिक ‘कू’ भएकाले चुनावको कुरा गर्न नसकिने बताए ।

उनले भने, ‘संवैधानिक ‘कू’ गरेका बेला चुनावको कुरा हुँदैन । अदालतबाट सच्याउनुपर्छ । अन्तिममा त जनअदातल छँदैछ । उहाँले बैशाखमा चुनाव गराउनका लागि घोषणा गर्नुभएको छैन ।’ अहिलेको अवस्था आउनुमा ओलीको ९९ प्रतिशत गल्ती रहेको वामदेव गौतमले नै भनेको उनले बताए । केही गल्ती आफूबाट पनि भएको उनले बताए । ‘०६२–६३ को आन्दोलनपछि मैले उहाँ जस्तो परिवर्तन विरोधीलाई उपप्रधानमन्त्री बनाएँ । यो मेरो गल्ती थियो । उहाँ जस्तो व्यक्तिका लागि पार्टी एकता हुँदा आलोपालो प्रधानमन्त्रीको सहमतिबाट प्रचण्डजी पछाडि हट्ने कुरामा मैले साथ दिएँ । यसमा पनि मबाट गल्ती भयो ।

केपी ओलीबाट नभएको प्रचण्डबाट भएको उनले बताए । ‘म प्रचण्डसँग गएको भनिएको छ । त्यो होइन । हिजो प्रचण्डले भनिसक्नुभएको छ । हामी दुबै जना समान अध्यक्ष हौँ । यसअघि स्थायी समिति बैठकको नेतृत्व मैले गरेँ । म पहिलो अध्यक्ष भएँ । अब प्रचण्डले बैठकको अध्यक्षता गर्नुहुन्छ । उहाँ पहिलो अध्यक्ष हुनुहुन्छ । यो कुरा केपी ओलीबाट भएन । आज प्रचण्डबाट भएको छ । अब भन्नुहोस् को राम्रो ? नेपालको प्रश्न थियो । नेपालले आधिकारिक नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहनेमा आश्वस्त हुन कार्यकर्तालई आग्रह गरे ।