प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न नेकपा प्रचण्डमाधव पक्षको निर्देशन

२६ पुस, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड(माधव पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न निर्देशन दिएको छ ।

आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो । बैठकका निर्णयबारे जानकारी दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीका त्यस्ता कार्य तत्काल रोक्न चेतावनी दिएको जानकारी दिए । मुख्यत चार जना पूर्व प्रधानन्यायाधीशले हालै देश, जनता, संविधान र निष्ठाका कारण प्रतिनिध सभा विघटनबारे सार्वजनिक दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमान गर्ने र धम्क्याउने कार्य गरेको भन्दै त्यसलाई प्रतिवाद गर्दै भर्त्सना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

संवैधानिक अधिकार र स्वतन्त्रताका लागि सबैलाई एकजुट गर्न र रक्षा गर्न आव्हान गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । त्यस्तै बैठकले राज्यको साधन स्रोतको लगानीमा सञ्चालिन सरकारी सञ्चारमाध्यमहरुले कुनै गुटको प्रचारमा लागेको भन्दै त्यस्ता सञ्चारमाध्यमहरुलाई गुटको सेवा गर्ने काम बन्द गर्न माग गरेको
छ । बैठकले ओलीको असंवैधानिक कदमका विरुद्धमा पार्टीले सञ्चालन गर्ने विरोधका कार्यक्रम प्रभावकारी बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।