संसद विघटनको विरोधमा अनेरास्ववियूद्धारा बयलगाढा प्रदर्शन

२६ पुस,बुटवल । प्रधानमन्त्री ओली पुस ५ गते प्रतिनिधिसभा बिघटन गरेपछि अहिले दिनहुँ जसो सडकमा प्रदर्शन भइरहेको छ । यसै क्रममा आन्दोलनरत प्रचण्ड–माधव नेपाल समूह निकट अनेरास्ववियूले आज बयलगाढासहित प्रदर्शन गरेका छन् ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा भेला भएर विद्यार्थीहरुले बयलगाढासहित प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाए । प्रदर्शनमा अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ लगायत सहभागी थिए ।

विगतमा ओलीले ‘गणतन्त्र ल्याउछौं भन्नु बयलगाढा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेको, तर नेपालमा गणतन्त्र स्थापना भएको र अहिले ओलीले गणतन्त्रको उपलब्धीलाई संकटमा पार्ने गरी संसद विघटन गरेकाले त्यसको विरोधमा बयलगाढासहित प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।

थापाथली क्याम्पस परिसरबाट बयलगाढासहित विद्यार्थीहरु सडकमा आउनासाथ प्रहरीले उनीहरुलाई तितरबितर पारेको थियो ।

संसद विघटनको विरोध गर्दै प्रचण्ड–माधव समूह निकट अनेरास्ववियू हाल दोस्रो चरणको आन्दोलनमा रहेको छ ।