माघ देखि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी सामुदायिक तथा निजी विद्यालय खोल्ने तयारी

२४ पुस, काठमाडौं । कोभिड–१९ को जोखिम घट्दो अवस्थामा गएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी माघदेखि क्रमशः खुल्ने भएका छन् ।

गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् । अनलाइन तथा रेडियो(टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो ।

कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए । ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ । हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्रमित देखिएका छन् ।

कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न तयारीमा छन् । गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन(चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने छ ।

काठमाडौँमा ९२ सामुदायिक र ६४५ निजी (संस्थागत) विद्यालय छन् । यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन् ।

कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो । विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्नुपर्नेछ । तर देशभर अनिवार्यरुपमा सञ्चालनका लागि मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्ने छ ।