प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ अर्काे बुधबार

२२ पुस, काठमाण्डौ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधबार हुने भएको छ ।

आजको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो ।

आजको सुनुवाइका क्रममा वकिलहरूले यी मुद्दाहरू वृहत पूर्ण इजलासमा पठाउनु पर्ने माग गरेका थिए । संवैधानिक इजलासले भन्दा पनि वृहत पूर्ण इजलासले यो विषयमा राम्ररी निर्णय गर्न सक्ने भएकाले वृहत पूर्ण इजलासमा पठाउनु उपयुक्त हुने उनीहरूको भनाइ थियो ।

बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले यी मुद्दाहरू वृहत पूर्ण इजलासमा पठाउन आज पूरक निवेदन पनि पेस गरेका थिए ।
आउने बुधबार संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुनेछ । सोही दिनको इजलासले नै वृहत पूर्ण इजलासमा मुद्दा पठाउने कि आफैं सुनुवाइ गर्ने भन्नेबारे निर्णय गर्ने
छ ।

आजको सुनुवाइमा प्रतिनिधि सभा विघटनबारे राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिएको लिखित जवाफ सुनाइएको थियो ।

सुनुवाइमा वकिलहरूले न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको मुद्दा हेर्न नमिल्ने पनि बताएका थिए । बरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले न्यायाधीश कार्कीको इमानमा प्रश्न नगरेको भए पनि उनी यसअघि ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता भइसकेकाले यो इजलासमा उनी हुँदा प्रश्न उठेको बताएका थिए ।