Breaking News

प्रतिगमन विरुद्धको लडाईलाई जित्नका लागि दलहरुको बीचमा एकता हुन आवश्यक

१७ पुस, काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रतिगमन विरुद्धको लडाईलाई जित्नका लागि दलहरुको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन् । जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादीबीच एकीकरण घोषणासभालाई सम्बोधन गर्दै उनले एक्लै एक्लैले लडाई जित्न नसकिने भएकाले अग्रगामी शक्तिहरु एक ठाउँमा आउनुपर्ने कुरामा जोड दिए । आउ हामी सबै मिलेर प्रतिगमनको विरोधमा लडौं ।

वरिष्ठ नेता राजेन्द्र महतोले पनि देशमा पहिलादेखि नै प्रतिगमन भएको र अहिले प्रतिगमनमाथि प्रतिगमन लादिएको बताए । संविधानमा आफ्नो अधिकार सुनिश्चित गराउनका लागि शुरुदेखि नै संघर्ष गर्दै आएको तर प्रतिगामी सरकारले जनताको पक्षमा संविधान नबनाएको उनले गुनासो गरे ।

पछि संविधान संशोधनको माग राखिए पनि संविधान संशोधन नगरि मधेशी, आदिवासी जनतामाथि विभेद गरेको उनले बताए । प्रतिगमनकारी सरकारका विरुद्धमा सशक्त आन्दोलनको आवश्यकता रहेको र त्यसका लागि सबै अग्रगामी शक्ति एक हुनुपर्ने कुरामा उनले जोड दिए ।

अमृत पुरी संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादीले जसपा नेपालसँग एकीकरण गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादीका सबै सदस्य तथा समितिहरु जसपा नेपालमा समाहित भएको जनाएको छ ।

अध्यक्ष, महन्थ ठाकुर