मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

११ पुस, बिराटनगर । प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको
हो ।

मन्त्री आङबोलाई मुख्यमन्त्री राईले शनिबार मन्त्री पदबाट हटाएलगतै उनको अगुवाईमा अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको हो । पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका छन् । उनले अब आफ्नो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जानकारी दिएका छन् ।

पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् । त्यसमध्ये प्रचण्ड(नेपाल समुहका ४७ जना छन् भने ओली पक्षका २० जना मात्रै रहेका छन् । यो प्रदेशमा प्रचण्ड(नेपाल समूह मिलेर मुख्यमन्त्री राई नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याए उनी सहजै हट्न सक्छन् ।