केपी शर्मा ओलीले चुनाव गराउनेमा आफूहरूलाई विश्वास छैन

रामचन्द्र पौडेल, काँग्रेस वरिष्ठ नेता

१२ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनेमा आफूहरूलाई विश्वास नभएको बताएका छन् ।

कामचलाउ भइसकेका प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उलंघन गरेको र असंवैधानिक रूपले प्रतिनिधि सभा विघटन गरेकोले ओलीले सहिसलामत चुनाव गराउनेमा विश्वास नभएको उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधि सभा विघटन गरेका थिए। वैशाखमा उनले चुनावसमेत घोषणा गरेका छन् ।

साथै पौडेलले प्रधानमन्त्रीको असंवैधानिक कदम सर्वोच्च अदालतबाट सच्चिनेमा विश्वास राखेका छन् ।

‘अब हामीलाई उहाँ (प्रधानमन्त्री ओली) ले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने पनि विश्वास छैन । बरु न्यायमूर्तिहरुबाट असंवैधानिक कदमलाई सच्चाइ लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु,’ पौडेलले विज्ञप्ति निकालेर उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीमा संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको नदेखिएको पनि पौडेलको भनाइ छ ।

‘प्रधानमन्त्री ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको देखिएन। उहाँले हालै लगातार चालेका तीनवटै कदम संविधानको मर्म र भावना विपरित छन् ।
संवैधानिक परिषद अध्यादेश ल्याएर ओलीले लुकीचोरी काम गरेको आरोप उनको छ ।

‘अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो,’ उनले भने।

पौडेलले संविधानले नदिएको अधिकार प्रधानमन्त्री ओलीले प्रयोग गरेको भन्दै थपेका छन्, ‘संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो। कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गर्नुभएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीका कमद सच्याउन देशैभरि प्रदर्शन गर्ने उनले बताए। सोमबार १६५ निर्वाचन क्षेत्रबाट विरोध गरिने उनको भनाइ छ।