१० मंसिर, काठमाण्डौं । इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन् ।
डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मेका यिसुख्रिस्टले तीन मुख्य खुशीयाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए ।
मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा इसाई धर्मावलम्बीले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले बताए ।
विश्वका धेरै मानिसले मनाउने ‘क्रिसमस डे’ नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको हो ।
दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो ।
यस अवसरमा विसं २०७५ देखि भने इसाई धर्मावलम्बीलाई मात्र बिदा दिन थालिएको छ ।
यसैले आज देशभरका इसाई धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिइएको छ ।
हाल नेपालमा ३० लाख इसाई धर्मावलम्बी रहेको महासङ्घको दाबी छ ।
महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्लासिक भेन्यू सातदोबाटोमा क्रिसमस महोत्सव २०७७ आयोजना गरिएको छ ।
कार्यक्रममा सरकारका प्रतिनिधि, मानवअधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए ।
पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा ‘क्रिसमस ट्रि’ सजाउने गरेको देखिन्छ ।
विशेषगरी इसाई धर्मावलम्बीका विदेशी पर्यटकलाई आकर्षित गर्न विगत वर्षमा साजसज्जा गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण चहलपहल कम देखिन्छ ।
पर्यटक आउने ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी हुने गरेको छ ।