भोलिबाट काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने

२ मंसिर, काठमाण्डौं । भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको छ ।
आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।

जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ । ‘शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारदेखि लागू हुनेगरी जोर(बिजोर प्रणाली हटाउने निर्णय भएको छ ।

कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजोर प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।