नौ महिनापछि पशुपतिनाथ मन्दीर खुला

१ पुष, काठमाण्डौ । कोरोना महाकारीका कारण ९ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट खुल्ला गरिएको छ ।

पशुपतिनाथको दर्शन गर्न श्रद्धालुहरु आज बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए । पुसको जाडोको प्रवाह नगरी भक्तजनहरु पशुपतिनाथ दर्शनका लागि आइरहेका छन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार हाल भक्तजनहरुलाई पश्चिमतर्फको सानो ढोकाबाट प्रवेश गराउने र पश्चिमतर्फकै ठूलो ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।
भक्तजनहरुलाई मास्क अनिवार्य गरिएको छ । ढोकाबाट प्रवेश गर्नुअघि हात स्यानिटाइज्ड गर्नुपर्छ । जुत्ताचप्पल राख्ने ठाउँमा पनि हात धुने र स्यानिटाइज्ड गर्ने व्यवस्था मिलाइएको छ ।

त्यहाँबाट अगाडि बढेपछि तापक्रम नाप्ने कोठामा जानुपर्छ । त्यहाँ जडान गरिएको अटोमेटिक मेसिनले भक्तजनको तापक्रम रेकर्ड गर्छ ।
यदि बढी तापक्रम देखाएमा भक्तजनलाई त्यहीँबाट फर्काइन्छ । सामान्य तापक्रम भएकाहरुलाई भौतिक दुरी कायम गरी लामबद्ध भएर पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न दिइन्छ ।

भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

 

आज पहिलो दिन भक्तजनहरुको खासै उपस्थिति नरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका सदस्य सचिव डा. ढकालले भने, ‘आज भक्तजनहरु जति आउनुहुन्छ भन्ने ठानेका थियौं, त्यति देखिएन ।’ विहानमा भक्तजनहरुको संख्या न्यून भए पनि घाम लागेसँगै केही चाप भने बढेको उनले बताए ।

पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गरिए पनि अझै केही समय भक्तजनले रसिद काटेर गरिने विशेष पूजा गर्न पाउने छैनन् ।