राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वास प्रस्तावबाट हटाउन तरुणको माग

१ पुष, काठमाण्डौ । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेपाली कांग्रेससम्बद्ध नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सम्माननीय राष्ट्रपति ज्युको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’

तरुण दलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेशमा टेकेर तत्काल कुनै पनि निर्णय नगर्नसमेत अनुरोध गरेको छ ।

‘प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौदेखि संसदलाई बन्धक बनाएर र उप–सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत छ,’ अध्यक्ष बस्नेतले विज्ञप्तिमा लेखेका छन्, ‘त्यसैले उक्त अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न नेपाल तरुण दल केन्द्रीय समिति अनुरोध गर्दछ ।