बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका कारण बैठकमा उपस्थित हुन नसकेको हुँ

सभामुख, अग्नी सापकोटा

३० मंसिर, काठमाण्डौ । सरकारले आज ल्याएको अध्यादेशमाथि बोल्ने क्रममा संघीय संसदका सभामुख अग्नी सापकोटाले पर्याप्त गृहकार्य र परामर्श नभएका कारण संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बोलाएको संबैधानिक बैठकमा सभामुख अग्नती सापकोटा अनुपस्थित भएका थिए ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी वक्तव्यमा भनिएको छ, जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो ।’

राज्य सञ्चालनमा दीर्घकालनीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने सभामुखको मान्यता रहेको उनले बताए ।

‘राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दूरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नुभएको छ’ वक्तव्यमा भनिएको छ ।