पार्टीको बैठकलाई छलेर प्रधानमन्त्री ओलीले चालेको कदम अत्यन्तै गलत

नेकपा वरिष्ठ नेता, माधवकुमार नेपाल

३० मंसिर, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले आज जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश बारे आफ्नो धारणा राख्ने क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तुरुन्त अध्यादेश फिर्ता लिएर गल्ती सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

पार्टीको बैठकलाई छलेर प्रधानमन्त्री ओलीले चालेको कदम अत्यन्तै गलत भएको नेता नेपालको जिकिर
छ ।

अध्यादेशबारे खरो जवाफ दिंदै वरिष्ठ नेता नेपालले ‘उहाँ (ओली) ले जुन तरिकाबाट यो अध्यादेश ल्याउनुभएको छ, भोलि बैठक छ, त्यसलाई छलेर कुनै सरसल्लाह नगरिकन जुन हिसाबले उहाँ चल्न खोज्नुभएको छ, यो अत्यन्तै बेठीक तरिका हो ।’

प्रधानमन्त्री ओलीले पार्टीलाई पनि विश्वासमा नलिएको र प्रतिपक्षको पनि विश्वास गुमाएको वरिष्ठ नेता नेपालले बताए । ‘छलफल गरेर टुंगो लगाउनुपर्ने विषयमा उहाँ जसरी एकलौटीरुपमा जाँदै हुनुहुन्छ, यो अत्यन्तै गलत कुरा हो’ नेपालले भने, ‘उहाँले तुरुन्तै अध्यादेश फिर्ता लिनुपर्छ । र, यस्तो तरिका फेरि दोहोरिन हुँदैन ।

प्रधानमन्त्रीले चालेको कमदका बारेमा बुधबार बस्ने स्थायी कमिटीको बैठकमा जोडदार कुरा उठ्ने पनि नेता नेपालले बताए । उनले भने, ‘भोलि बैठक बस्छ । त्यहाँ यस विषयमा जोडदार छलफल हुन्छ ।