किन हतार भयो राष्ट्रपतिलाई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न

३० मंसिर, काठमाडौं । रिक्त रहेका संवैधानिक निकायहरूमा नियुक्तिको बाटो खुलाउन भन्दै सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको छ ।

राष्ट्रपति कार्यालयले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी भएको जनाएको छ ।

सत्तारूढ नेकपाको विवादबीच आइतबार र मंगलबार डाकिएको संवैधानिक परिषद् बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएका थिए । सभामुख अनुपस्थित भएपछि कोरम नपुग्दा बैठक अघि बढ्न सकेको थिएन ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन् । मंगलबार बिहानको बैठकमा भने प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागि भएका थिए । तर सापकोटा भने बैठकमा गएनन् ।

संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धि ऐनको दफा ६ को उपदफा ३ मा बैठक बस्न अध्यक्ष र अन्य चार जना उपस्थित हुनुपर्ने व्यवस्था छ ।

हाल उपसभामुख पद रिक्त छ भने सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित रहँदै आएका छन् । सभामुख सापकोटा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् ।

नेकपाका अध्यक्ष प्रचण्डले पार्टीमा विवाद रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक राखेकोमा आपत्ती जनाइसकेका छन् ।

गत वैशाख ८ गते पनि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदमा आफूले चाहेको बखत बैठक बोलाएर विपक्षी दलको नेताको अनुपस्थिति वा असहमतिमा पनि निर्णय लिन सक्ने प्रावधानसहितको अध्यादेश जारी गर्न सिफारिस गरेका थिए ।

उक्त अध्यादेशका अतिरिक्त राजनीतिक दल सम्बन्धी अध्यादेश समेत जारी गराएका ओलीले स्वयं सत्तारूढ दलभित्रैबाट समेत विरोध भएपछि चारदिनपछि वैशाख १२ दुवै अध्यादेश फिर्ता गराएका थिए ।