ओली सरकार भ्रष्टाचारमा चुलुम्ब डुबिसक्यो

काँग्रेस वरिष्ठ नेता, रामचन्द्र पौडेल

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आज देशै भर गरेको प्रदर्शनमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा डुबिसकेको बताएका छन् ।

सरकारको विरोधमा कांग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै पौडेलले भ्रष्टाचारको कथा त भनिसाध्य नभएको बताए । ‘मैले भन्नु पर्दैन, सचिवालयका बहुमत नेताले भनिसके, यो सरकार नालायक हो, भ्रष्टाचार हो ।

भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रधानमन्त्रीको इसारामा चलेको र केहीलाई खतमाफ दिने अड्डा बनेको उनले बताए ।

‘जबजब मन्त्रीले भ्रष्टाचार गरेको काण्ड आउँछ, तबतब प्रधानमन्त्री स्वयंम अगाडि सरेर यो मन्त्री त चोखै छन्, मन्त्री त निर्दोष छन् । यो मन्त्रीलाई केही हुँदैन भनेर अख्तियातिर इसारा गर्छन् । अनि अख्तियार त्यो केसलाई मुल्तबीमा राख्छ,’ उनले भने, ‘सरकारको इसारामा चल्ने हो भने त्यो आयोग किन चाहियो ?’

आफूहरु दूधले नुहाएको छौं नभन्ने उनले बताए । तर आफैंले अख्तियारको कानुन प्रस्ताव पेस गरेर त्यही कानुनअनुसार हत्कडी लगाएको दृष्टान्त पेस गरेको उनले बताए ।