ओली नै राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी राजावादीको आन्दोलन भयो

शेरबहादुर देउवा/सभापति

२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार देशैभर सरकारको विरोधमा शक्ति प्रदर्शन गरेको छ । कोरोना महामारीकै वीचमा आयोजित विरोध प्रदर्शनहरुमा उल्लेख्य जनसहभागिता देखिएको भन्दै कांग्रेस नेताहरु उत्साहित देखिए ।

काँग्रेसको विरोध कार्यक्रम अन्तर्गत पार्टी सभापति शेरबहादुर देउवाले हेटौडामा सभालाई सम्बोधन गर्ने क्रममा ओली सरकारबाट नेपाली जनताले मुक्ति चाहेको बताएका छन् । अब गणतन्त्रको रक्षाका लागि भए पनि ओली सरकार ढाल्नुपर्ने संकेत गरेका छन् ।

देवाले बोल्दै केपी ओलीले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै देउवाले सरकारको चर्को आलोचना गरे । आफूले यसअघि नै कम्युनिस्टहरुले चुनाव जिते भने हाँस्न र रुन पनि पाइने छैन भनेको स्मरण गर्दै देउवाले भने, आज कोही रोयो भयो किन रोइस् भनेर जेल हाल्न बेर छैन ।

सभामा बोल्ने क्रममा सभापति देउवाले कम्युनिस्ष्ट सरकारकै कारण सडकमा राजा आउ देश बचाउको नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंकासमेत गरे ।

साथै, देउवाले गणतन्त्रलाई स्थायी बनाउन र सुदृढ पार्न ओली सरकारबाट जनताले मुक्ति चाहेको समेत बताए । उनले भने, ‘गणतन्त्र आइसक्या छ । गणतन्त्रलाई ठीक पार्ने, राम्रो गराउने । ओलीको सरकारबाट मुक्त गरायो भने गणतन्त्र राम्रो भएर जान्छ । यसमा हामी लागौं ।’

त्यसकारण राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए । उनले भने, ‘ओली नै राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’

कसैलाई भ्रम नहोस्, राजा आउने छैन ।’ प्रजातन्त्रको खिलाप जानुहुन्न भन्दा राजालाई आफूलाई थुनेको स्मरण गर्दै उनले राजाले प्रजातन्त्रलाई नसहेका कारण आफहरु गणतन्त्रको पक्षमा उभिएको बताए ।

देउवाको भाषणको सम्पादित अंश

वास्तवमा सडकमा भेला गराएर जनतालाई अप्ठ्यारो पार्ने हाम्रो उद्देश्य होइन । यातायात बन्द.. त्यो पनि हाम्रो उद्देश्य होइन । तर, बाध्य भएर हामीले आन्दोलन, विरोधसभा गरिरहेका छौं । यो बाध्यात्मक कुरा हो । हामीले केही गरेनौं भने पनि गरेन भन्छन्, ग¥यो भने पनि यस्तो भदिन्छन् ।

प्रजातन्त्रका नाममा ढुंगा हान्ने, मानिसलाई दुःख दिने, पसलहरु बन्द गराउने, सडकहरु बन्द गराउने, सडकमै आमसभा गर्ने हाम्रो उद्देश्य होइन । तर, आज हामी बाध्य भएर गरिरहेका छौं । यसमा नेपाली कांग्रेसका तर्फबाट म सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरुमा माफी चाहन्छु ।

मैले कम्युनिस्ट पार्टी एक हुँदाखेरि भनेको थिएँ, कम्युनिस्टहरुले जितेपछि बोल्न पाइने छैन । हाँस्न पाइने छैन । रुन पनि पाइनेछैन भनेको थिएँ मैले । आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन । रुन थाल्यो भने पक्रेर लैजान्छ । चाहे कोरोनाले रोओस् वा जुनसुकै कारणले रोओस् । यहाँ रुनु पनि आफ्नो खिलाफमा लाग्छ ओलीलाई । त्यस्तो किसिमको अवस्था छ आज ।

एकदलीय सर्वसत्तावादी शासन लागु गरेको छ कम्युनिस्टको सरकारले । त्यसैकारण आज हाम्रो अगाडि धेरै ठूलो चुनौती छ । चुनौतीको सामना पनि आज हामीले गर्नुछ ।

मैले ओलीलाई भनेको थिएँ, कोरोना संक्रमण रोक्नका लागि तपाईलाई हाम्रो विनाशर्त सहयोग रहन्छ । हामीले हाम्रो तलबको पनि आधा भाग दियौं । दसैं खर्च पनि हामीले सरकारलाई बुझायौं । कम्युनिस्ट माननीयहरुले दिन बाध्य भए । मैले भनेको थिएँ कोरोनासँगको लडाइँमा हाम्रो पूरा पूरा साथ रहन्छ । तर, उनीहरुले त कोरोनामा पनि घुस खाने काम गरिरहेका छन् ।

आज ओलीको सरकार बनेपछि, कम्युनिस्टको सरकार बनेपछि यति बलात्कारहरु भएका छन्, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या भएको छ । शून्य सहनशीलता भन्ने मान्छेले अहिलेसम्म हत्यारालाई पक्राउ गरेको छैन । पक्डनै चाहँदैन ।

उसको पार्टीको मान्छे संलग्न छैन भने किन पक्राउ गर्दैन ? यसबाट स्पष्ट हुन्छ, आज बलात्कारका घटना बढेका छन् भने ओली सरकारको कारणले बढेका छन् । कम्युनिस्ट सरकारका कारणले बढेका छन् ।

आज देशमा सरकारले एकतर्फी शासन, एकलौटी शासन, जनतालाई बोल्नेरलेख्ने अधिकार, संगठन गर्ने अधिकार, विरोध गर्ने अधिकारसमेत बन्द गर्न खोजिरहेको छ । हामीले कुनै सर्वसत्तावादी सरकार ल्याउनका लागि आन्दोलन गरेको होइन । हामीले स्वतन्त्रताको पक्षमा लडेर ल्याएको व्यवस्था हो यो ।

त्यसैकारण हामीले आज देशव्यापी रुपमा यो प्रजातन्त्रका लागि, कोरोनाबाट मुक्त गराउनका लागि र प्रजातन्त्रका मूलभूत उद्देश्यहरुमा जुन आक्रमण भइरहेको छ, त्यसका लागि हामीले लडाइँ अगाडि बढाइराखेका छौं ।

अहिले कोरोनाको महामारीका बेलामा हामीले जुन मिटिङ ग¥यौं, जसमा यत्रो संख्यामा आउनुभएकोबाट थाहा हुन्छ कि जनता आज कम्युनिस्टको सरकारबाट वाक्क भइसकेका छन् र मुक्ति चाहन्छन् । त्यसैले हामीले मुक्त पार्नका लागि देशैभरि आन्दोलन गर्नुपर्ने बाध्यता छ ।

अर्को कुरा अहिले राजा आऊ, देश बचाऊ भनेर हिँड्दैछन् । यसमा पनि बोल्नुपर्ने मैले आवश्यक ठानेको छु । किन राजा आऊ देश बचाऊ भनिँदैछ ? तपाईहरु एउटा कुरा सुन्नोस् है, राजालाई मैले भनेको थिएँ, सरकार प्रजातन्त्रको खिलाफमा कुनै हालतमा जान्नँ । अरु केके सहयोग गर्नुपर्ने हो तयार छु, तर प्रजातन्त्रको खिलाफमा जान्न भन्दा मलाई थुनेर राख्दियो ।

राजा ज्ञानेन्द्रले जेल हाले पनि निस्पक्ष र हिम्मतदार अदालत थियो, त्यसले मलाई छोड्यो । तर, अहिले त अदालतलाई पनि कम्युनिस्टकरण गर्न खोजिँदैछ । त्यसकारण निष्पक्ष, स्वतन्त्र न्यायपालिकालाई स्थापित गर्नका लागि पनि हामीले अगाडि बढ्नु छ ।

अहिले आएर राजाआऊ देश बचाउ भन्दैछन्, यो पनि कम्युनिस्ट सरकारकै कारणले हो । ओली नै राजाँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ? यी कहाँ थिए ? अहिले कहाँबाट आए ? अहिले राजा आऊ देश बचाउन भनेर हिँडिराखेका छन्, यसमा यसमा कम्युनिस्ट सरकार जिम्मेवार छ ।

त्यसकारण म स्पष्ट भन्न चाहन्छु यो गणतन्त्र ल्याउने राजा नै हुन्, हामीले ल्याएको होइन । २००७ सालमा भागेर गएका राजा त्रिभुवनलाई हामीले फर्कायौं । तर, तिनीहरुले प्रजातन्त्र सहँदै सहेनन् । त्यसकारण बाध्य भएर गणतन्त्र ल्याएका हौं । अब राजा फर्कने सम्भावना छँदैछैन ।

तैपनि राजा आऊ देश बचाऊ भनेर कराइराख्या छन्, यो पनि ओलीकै कारणले । यस्ता तत्वहरु आज किन अगाडि बढिराखेका छन् भने ओली सरकारको कारणले हो ।

कसैलाई भ्रम नहोस् । राजा फेरि फर्केर आउनेवाला छैन । यो आन्दोलन भएको ओली सरकारका कारणले हो । ओली सरकारबाट आजित भएर जनता बाध्य भएका हुन सक्छन् ।

हामी संघीय गणतन्त्रतात्मक शासन व्यवस्थाका पक्षमा छौं । हाम्रो पार्टीबारे कसैलाई पनि शंका नहोस् है । गणतन्त्र आइसक्या छ । गणतन्त्रलाई ठीक पार्ने, राम्रो गराउने । ओलीको सरकारबाट मुक्त गरायो भने गणतन्त्र राम्रो भएर जान्छ । यसमा हामी लागौं । गणतन्त्रलाई स्थापित गराऔं । निस्पक्ष गणतन्त्र, जनतामा जिम्मेवार गणतन्त्रलाई अगाडि लैजाऔं ।

देश र सम्पूर्ण नेपालीहरु, आदिवासी, दलित, जनजाति सबैलाई अटाएको यो राम्रो व्यवस्था छ । समावेशी व्यवस्था छ । त्यसकारण यो व्यवस्थालाई अझ प्रजातान्त्रीकरण गराएर, कम्युनिस्ट शासनबाट मुक्त गराउने यही काममा हामी लागौं ।

नेपालमा अहिले जुन संविधान छ, यसलाई सुदृढ गरेर सफल पार्ने हो भने यसमा कम्युनिस्टको शासनबाट मुक्त गराउन सकियो भनेदेखि सम्पूर्ण गणतन्त्रतात्मक लोकतान्त्रिक शासन नेपालमा स्थायी हुन्छ ।

लोकतन्त्र भनेको हामी सुधार हुन सक्ने प्रणाली हो । हामीमा केही कमजोरीहरु छन् भने हामी सुधार्छाैं । आजै देखियो नि, यत्रो आमसभा । जनता कहाँ छन्, जनता त कांग्रेससँग छन् । नेपाली कांग्रेस भनेको प्रजातन्त्रको अग्रणी पार्टी हो । त्यसकारण, प्रजातन्त्रमा कुनै पनि अधिकार खोसियो भने हामी आन्दोलन गर्नुपरे आन्दोलन गर्छौं । कम्युनिस्ट सर्वसत्तावादी शासन कुनै हालतमा स्वीकार गरिँदैन ।

अहिले कोरोनाको समस्या छ । म सबै साथीहरुलाई भन्छु, सकेसम्म डिस्ट्यान्स मेन्टेन गर्नोस् । मास्क लगाउनोस् । फाइदै
हुन्छ । कोरोना मुक्त गर्न हाम्रो पनि हात छ ।

ओली सरकार नढल्दा कांग्रेसलाई फाइदा !

पछिल्लो समयमा केपी शर्मा ओलीले प्रधानमन्त्री दि छाड्नुपर्ने माग सत्तारुढ नेकपाभित्रैबाट उठिरहेको छ । तर, यसबारेमा प्रतिपक्षी नेपाली कांग्रेस मौनजस्तै रहँदै आएको थियो । जनताले बहुमत दिएको हुनाले सरकार ढाल्ने खेलमा नलाग्ने कांग्रेस नेताहरुले बताउँदै आएका थिए ।

यसैबीच अघिल्लो साता बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेल र विमलेन्द्र निधिले ओली सरकार पूर्णरुपमा असफल भएको भन्दै अब कांग्रेसले ओलीको विकल्प चाहेको संकेत गरेका थिए ।

यसै सन्दर्भमा नेपाली कांग्रेसका एक उच्च नेतालाई अनलाइनखबरले सोध्यो, तपाईहरु बहुमतको सरकारविरुद्ध सडकमै उत्रिनुभयो, विपक्षीको धर्म अनुसार सरकारका कामको आलोचनाका लागि मात्रै सडकमा आउनुभएको हो कि सरकार ढाल्न खोज्नुभएको ?

जवाफमा कांग्रेस नेताले भने, ‘केपी ओलीको सरकार नढल्दा अर्को चुनावमा कांग्रेसलाई फइदा हुन्छ । तर, ओली सरकार ढल्यो भने देशलाई फाइदा हुन्छ । हामी देशलाई फाइदा होस् भन्ने चाहन्छौं ।

ती नेताका अनुसार कांग्रेसको आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुशासनको पक्षमा छ । कोरोनाको परीक्षण र उपचार निःशुल्क हुनुपर्छ र भ्रष्टाचार रोकिनुपर्छ भन्ने उद्देश्यले आन्दोलन घोषणा गरिएको ती नेताको भनाइ छ ।

सरकार ढले पनि कांग्रेसले पाउँदैन

कांग्रेस सभापति देउवाले कम्युनिस्ट सरकारबाट जनताले मुक्ति चाहेको बताए पनि आगामी चुनावसम्म कम्युनिस्टकै सरकार कायम रहने निश्चित छ । कम्यनिस्ट पार्टीसँग स्पष्ट बहुमत रहेका कारण केपी ओली सरकारबाट बाहिरिए पनि नेकपाबाटै अर्को प्रधानमन्त्री बन्ने निश्चित छ ।

संसदको गणितीय अवस्थाका कारण कांग्रेसको आन्दोलनले आगामी चुनावअघि नै देशलाई ‘कम्युनिष्ट सरकारबाट मुक्त’ बनाउने स्थिति देखिँदैन । यहीवीचमा नेकपा फुट्यो भने कांग्रेससहितको मिलिजुली सरकार बन्न सक्ला, अन्यथा यो सडक आन्दोलनले देउवाले भनेजस्तो ‘कम्युनिस्ट सरकारबाट मुक्ति’ तत्काल सम्भव देखिन्नँ । तर, कांग्रेसले ओली सरकारको विरोधमा बढ्दो जनमतलाई राजावादीतर्फ जान नदिई आफैंले ‘क्यास’ गर्नका लागि भने यो आन्दोलन उपयोगी हुन सक्छ ।

अर्कोतर्फ ओली सरकारविरुद्ध कांग्रेसले थालेको आन्दोलनले नेकपाभित्रैबाट ओलीको विकल्प खोजिरहेको पक्षलाई फाइदा पुग्ने र केपी ओली पार्टीभित्र र बाहिर दुबैतिरबाट घेराबन्दीमा पर्नसक्ने एकथरिको विश्लेषण छ ।

सोमबारको आन्दोलनमा कार्यकर्ता र जनताको उपस्थितिले कांग्रेस नेताहरुलाई उत्साह जगाएको सो पार्टीका नेताहरु
बताउँछन् ।