देशैभर काँग्रेसले शक्ति प्रर्दशन गर्दै सरकारविरुद्ध खनियो

२९ मंसिर, काठमाडौं । आज सरकारविरुद्ध देशभर भएको प्रदर्शनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिरोध गरिरहेको छ । तीन वर्षयता लगभग निराशजस्तै देखिएका कांग्रेसी कार्यकर्ताहरु आज सोमबारको देशव्यापी प्रदर्शनबाट एकाएक उत्साही बनेका छन् ।

देशभरका प्रदर्शनमा कांग्रेस कार्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता देखिएको थियो । पार्टीका केन्द्रीय नेताहरुले नै जिल्ला–जिल्लामा पुगेर विरोध प्रदर्शनको अगुवाइ गरेका थिए ।

काठमाडौंको शान्ति बाटिकामा भएको विरोध प्रदर्शनमा झण्डै ७÷८ हजारको सहभागिता रहेको कांग्रेस नेताहरुले बताएका छन् । जिल्लाहरुमा भएको प्रदर्शनमा पनि उल्लेख्य सहभागिता देखिएको कांग्रेस नेताहरुले बताएका छन् ।

आज देशैभर कांग्रेसको प्रदर्शनमा उल्लेख्य करिब ९२ हजारको सहभागिता रहेको रिपोर्ट तयार पारेको बुझिएको छ ।

ओली सरकारको पक्षपातपूर्ण एवं सर्वसत्तावादी प्रवृत्ति, कोभिड–१९ नियन्त्रणमा देखिएको उदासीनता र भ्रष्टाचारको विरोध गर्दै प्रदर्शन गरिएको कांग्रेस नेताहरुले बताएका छन् ।

प्रदर्शनहरुमा ओलीविरुद्ध चर्का नाराहरु लगाउनका साथै कतिपय जिल्लामा कांग्रेस कार्यकर्ताले प्रधानमन्त्रीको राजीनामासमेत मागेका छन् ।

विरोधसभालाई सम्बोधन गर्ने कांग्रेस नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । भ्रष्टाचार डुबेको, अधिनायकवादतर्फ उन्मुख भएको, कोरोना महामारी नियन्त्रणमा चुकेको भन्दै सरकारको आलोचना गरेका उनीहरुले ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्रदर्शन गर्दै हिँडेका राजावादीहरुतिर पनि निशाना साँधेका थिए ।