२९ मंसिर, काठमाडौं । जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारदेखि अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेकी हुन् ।
अहिले घोषणा गरिएको यो प्रकारको आशिंक लकडाउन कम्तीमा जनवरी १० तारिखसम्म रहने र त्यसपछि अवस्था हेरेर निर्णय गरिने पनि उनले स्पष्ट पारिन् ।
युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकमा महामारी थप बढ्दै गएपछि त्यस क्षेत्रकै लागि चुनौती भएको छ ।
अर्थतन्त्रमा धेरै नकारात्मक असर परिरहेकाले कामदारहरूलाई घरबाटै काम गर्न पनि सरोकारवाला सबैलाई मर्केलले आग्रह गरेकी छन् ।
त्यसैगरी सार्वजनिक स्थलमा रक्सीको कारोबार गर्न पनि प्रतिबन्ध लगाइएको छ भने कपाल काट्ने ठाउँ पनि बन्द गर्न भनिएको छ ।
आंशिक लकडाउनका बारेमा र त्यसको व्यवस्थापनका बारेमा चान्सलर मर्केलले आइतबार १६ राज्यका नेताहरूसँग छलफल गरेकी थिइन् ।
क्रिसमस, नयाँ वर्षलगायतका महत्वपूर्ण चाडपर्वहरू मनाउने बेला भएकाले पनि सङ्क्रमण थप फैलिन सक्नेतर्फ सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूले चाडपर्व मनाउनका लागि भीडभाड हुने, किनमेल बढ्ने, रमाइलो गतिविधिहरू धेरै हुने भएकाले पनि तत्काल लकडाउनको आवश्यकता भएकोमा जोड दिएका छन् ।
’देशमा कोरोना भाइरसको महामारीको अवस्था नियन्त्रणभन्दा बाहिर गइसकेको छ,’ बाभारिया राज्यका प्रमुख मर्कुस सोएडरले भनिन् ।
चान्सलर मर्केलको आह्वानलाई आफूले आफ्नो राज्यमा पूर्ण रूपमा कार्यान्वयन गराउने अठोट लिएको उनले बताएकी छन् ।
जर्मनीमा यसअघि पनि धेरै नियन्त्रणका व्यवस्थाहरू लागू गरेकाले महामारी न्युनीकरण भएको थियो ।
तर अहिले फेरी अत्यधिक बढ्न थालेपछि सर्वत्र चासो र सक्रियता बढेको छ ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार जर्मनीमा अहिलेसम्म १३ लाख २० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने २२ हजार १७१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।