नेकपा आजको बैठकमा सहमति होला की ? बहुमतीय प्रणालीमा जाला ?

२८ मंसिर, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज केहीबेरमा स्थायी समिति बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने बताइएको छ ।

गत मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन ओली भौतिक रुपमा अनुपस्थित भएका थिए । आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको छ । बैठक बालुवाटारमा बस्ने नेकपा केन्द्रीय कार्यलयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

पहिलो दिनकोे बैठकमा दुवै अध्यक्षले सचिवालयमा पेश गरेका प्रतिवेदन र दस्तावेजहरु स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो । साथै यही विचमा सहमति खोज्ने अनेकौ प्रयास भएपनि सहमति भने जुट्न सकेन । त्यसका लागि ओली प्रचण्डबीच एक्लाएक्लै र दोस्रो तहका नेताहरुबीच पनि छलफल भएको बताइएको छ ।

खासगरी प्रधानमन्त्री ओली अर्का अध्यक्ष प्रचण्डले ल्याएको प्रतिवेदन फिर्ता गर्नुपर्ने पक्षमा छन् भने प्रचण्ड दुवै प्रतिवदनमाथि छलफल गरेर निश्कर्षमा पुग्नुपर्ने भन्दै प्रस्ताव फिर्ता नगर्ने अडानमा छन् ।

यो बीचमा केही नेताहरुले नेकपाको विवाद समाधान गर्न दुवै अध्यक्षका प्रतिवेदन स्थगित गरेर अर्कै प्रतिवदन बनाउन सकिने भन्दै नेताहरुलाई कन्भिन्स गर्न खोजेपनि त्यसमा प्रचण्ड सहमत हुन सकेका छैनन ।

गत २४ मंसिरमा ओली र प्रचण्डबीच भएको भेटमा सहकार्यका लागि प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव प्रचण्डले अस्वीकार गरेका थिए । त्यसयता उनीहरूबीच संवादसमेत भएको छैन ।

प्रचण्डले कमिटीबाहिर हुने छलफल र संवादको औचित्य नभएको बताउँदै आएका छन् ।

४५ सदस्यीय नेकपाको स्थायी कमिटीमा अहिले ४३ सदस्य छन् । सभामुख अग्नी सापकोटा र पूर्वसभामुख कृष्णबहादुर महराको पद रिक्त छ । स्थायी कमिटीमा प्रचण्ड–नेपाल समूह बहुमतमा छ ।

दुवै अध्यक्षको प्रतिवेदनलाई औपचारिक छलफलको विषय बनाउन नहुने ओली पक्ष देखिएपछि प्रचण्ड–नेपाल समूहले भने दुवै प्रतिवेदनलाई अल्पमत र बहुमतकै विधिबाट छिनोफानो गरेर केन्द्रीय कमिटीसम्म छलफलमा लैजाने गरी तयारी गरेको छ ।