त्रिभुवन विश्वविद्यालयको ४६औं दीक्षान्त समारोहमा ८३ जना मात्र सहभागी हुन पाउने

फारम भरेका बाँकी सबैको प्रमाणपत्र बाहेक अरु रकम फिर्ता हुने

२८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४६औं दीक्षान्त समारोहमा सहभागी हुन फारम भरेकाहरुले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुन नपाउने भएका छन् ।

त्रिविले पीएचडी, एमफिल उतीर्ण र पदक पाउने विद्यार्थीको मात्र सहभागितामा दीक्षान्त समारोह गर्ने भएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्षको दीक्षान्त समारोहमा ८३ जना विद्यार्थी मात्र सहभागी हुने बताए ।

त्रिविले पुस ६ गते बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय हातामा नै दीक्षान्त समारोह गर्नेछ । दीक्षान्त समारोहको प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामवरण यादव रहनेछन् ।

‘पीएचडी, एमफिल र गोल्डमेडलिस्टले मात्र सहभागी हुन पाउँछन्’ परीक्षा नियन्त्रक जोशीले भने । दीक्षान्त समारोहमा सहभागी हुन फारम भर्ने अरु विद्यार्थीले भने प्रमाणपत्रको बाहेक अन्य शुल्क फिर्ता पाउने जोशीले बताए ।

कोरोना भाइरसको महामारीका कारण धेरै मानिस सहभागी गराएर कार्यक्रम गर्न नमिल्ने हुनाले फारम भरिसकेका विद्यार्थीलाई पनि सहभागी गराउन नसकिएको त्रिविको भनाइ छ ।

यस वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७०८७ जनाले फारम भरेका थिए । तर पीएचडी उपाधि हासिल गरेका ४१, एमफिल उपाधि हासिल गरेका २५ र अरु पदक तथा पुरस्कार पाउनेको संख्या जोड्दा नै ३१६ पुग्छ । तीमध्ये ८३ जनालाई मात्र दीक्षान्त समारोहको औपचारिक कायक्रममा बोलाइएको हो ।

त्रिविले दीक्षान्त समारोहमा सहभागी हुन चाहनेले अनलाइन माध्यमबाट फारम भर्ने व्यवस्था मिलाएको थियो ।