भावनात्मक रुपमा पार्टी फुटिसक्यो

पृथ्वीसुब्बा गुरुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री

२८ मंसिर, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो पोखरामा ‘श्रवण कुमार गृह जेष्ठ नागरिक सेवा केन्द्र’को शिलान्यास गर्ने क्रममा प्रमुख अतिथिको रुपमा बोल्दै भावनात्मक रुपमा पार्टी फुटिसकेको दाबी गरे । ‘पार्टी एकता जोगाउन हामी संघर्षरत छौं, भावानात्मक रुपमा फुटिसकेको पार्टी हामीले प्राविधिक रुपमा जोगाएका छौं,’ गुरुङले भने, ‘पार्टी एकता हामीले मात्र जोगाएका छौं ।’

भेलाको अध्यक्षता गरेका नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सुरूमै सो भेलाको औचित्य पुष्टि गर्न पार्टी एकता जोगाउन ‘वार्मअप’ गरेको प्रष्टिकरण दिएका थिए । त्यसपछि बोलेका प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले भने फोटो खिच्न र भाषण रेकर्ड नगर्न सहभागीलाई आग्रह गर्दै मोबाइल स्वीच अफ गर्न निर्देशन दिएका थिए ।

भेलामा सम्बोधन गरेका नेकपा गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले प्रचण्ड पक्षले झैं आफूहरूले गुटभेला गरेर अल्पमतमा पार्ने कोसिस आफूहरूले नगरेको बताए। उनले प्रचण्डको तरिका भन्दै पूर्वमाओवादीले विद्रोहकालमा बाबुराम भट्टराईमाथि गरेको कारबाही स्मरण गरे ।

‘माओवादीले द्वन्द्वकालमा पटक–पटक बाबुरामलाई कारबाही ग¥यो, आफ्नै सहकर्मीलाई निमर्म कारबाही गरेको उनीहरूको तरिका हो,’ मुख्यमन्त्री गुरुङले भने । माओवादीको जस्तो संस्कार पूर्वएमालेको नरहेको उनले बताए ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको प्रस्तावलाई ‘अभियोग पत्र’ भनेका गुरुङले एमालेको संस्कार त्यस्तो नरहेको बताए । ‘हाम्रो (एमालेको) संस्कार त्यस्तो थिएन, हाम्रो त समस्या पार्टीको एजेण्डामा राखेर छलफल गर्ने संस्कार थियो,’ गुरुङले भेलामा भने, ‘अभियोग पत्र पेश गर्ने थिएन ।’

प्रचण्डले व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रिएर जथाभावी लेख्ने र मानमर्दन गर्ने काम गरेको मुख्यमन्त्री गुरुङले आरोप लगाए । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको राजीनामा माग्ने हैसियत प्रचण्ड र माधव नेपालहरूलाई नरहेको उनले जिकिर
गरे ।

‘माधव नेपालले कुन हैसियतले राजीनामा माग्ने ?,’ गुरुङले भने, ‘चार महिनापछि महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने कुरा हुँदा महाधिवेशनसम्म पुग्दिन भन्ने कुरा जायज हुँदैन ।