आफैले चढेको बसले किचेर एक जनाको मृत्यु

रासस

२८ मंसिर, काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ ।

गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्धिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ ।

सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफैँ चढेको बसको पछाडिको चक्काले किचेको प्रमुख ढकालले जानकारी दिए ।

मृतकको शव आज परीक्षणपछि परिवारलाई बुझाइने उनले बताए ।

बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
(रासस)