एन्टिजिन परीक्षणलाई पिसिआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुको सुझाव

२१ मंसिर, काठमाडौं । एन्टिजिन परीक्षणलाई पिसिआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् । एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पिसिआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का खोप विज्ञ डा. तीर्थ घिमिरेले पिसिआरले भाइरसभित्र रहेको अणुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजिनले भाइरसका टुक्राटुक्रीलाई मात्रै चिन्ने विशेषता हुने बताए ।

त्यसकारण एण्टिजिनबाट फल्स रिपोर्टसमेत आउने भएकाले यसलाई पिसिआरको विकल्पमा लिन नहुने बताए । एन्टिजिन टेस्ट गर्दा कहिलेकाहीँ कोभिड १९ संक्रमण भएकालाई नभएको र नभएकालाई भएको रिजल्ट दिने भएकाले यसलाई पिसिआरको विकल्पमा प्रयोगमा ल्याउन नहुने डा. घिमिरेले बताए ।

उनले भने, ‘पिसिआरको विकल्पमा एन्टिजिन टेस्ट हुन सक्दैन । पिसिआर भनेको हाइलि एडभान्स टेक्नोलोजी हो । पिसिआर एउटा कन्फर्मेटरी अर्थात् कोभिड छ भनेर पक्का गर्ने अथवा छैन भनेर पक्का गर्ने विधि हो । तर यो एन्टिजिन परीक्षण कन्फर्म परीक्षण होइन ।’

उनले एन्टिजिन परीक्षण सस्तो, छिटो र सजिलो छ भन्दैमा पिसिआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने बताए । एन्टिजिनलाई अत्यावश्यक अवस्थामा मात्रै प्रयोग गर्न सकिने उनको भनाइ छ । त्यसबाहेक समूहमा बसोबास गर्नेहरुमा यसबाट परीक्षण गरी स्थितिको बारेमा जानकारी लिन सकिने पनि डा. घिमिरेले बताए ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं माइक्रो बायोलोजिष्ट मेघराज बन्जाराले एन्टिजेन परीक्षण परीक्षणकै रुपमा रहेकाले अहिले नै पिसिआरको विकल्पमा प्रयोग गर्न नहुने बताए ।

उनले भने, ‘यो एन्टिजिन परीक्षण परीक्षणकै क्रममा रहेकोले प्रयोग गर्न हुन्छ वा गर्न हुन्न भन्ने अवस्थामा म छैन । तर, यसको नतिजालाई पिसिआरको नतिजासँग तुलना गरेर यदि यसको पफमेन्स पनि, सेन्सेटिभिटी, स्पेसिफिसिटी पनि विश्व स्वास्थ्य संगठनले दिएको मार्गदर्शन अनुसारको र हाम्रो देशमा परीक्षण गर्दा पनि रियल टाइम पिसिआर जत्तिकै सेन्सेटीभ भयो भने यसलाई प्रयोग गर्न सकिन्छ ।’

अहिले प्रयोगमा आएका एन्टिजेन टेष्टहरू कुनै पनि आधरिकारिक निकायबाट प्रमाणित भइनसकेको र अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले पनि आपतकालीन स्वीकृत मात्रै दिएको बन्जाराले बताए ।

अहिले सबैठाउँमा एन्टिजिन परीक्षण परीक्षणकै रुपमा रहेको र यसको नतिजा उच्च संवेदनशिल, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले ८० प्रतिशत भन्दा बढी सेन्सेटिभिटी भयो भनेर प्रमाणित ग¥यो भने मात्रै पिसिआरको विकल्पमा प्रयोग गर्न किने पनि बन्जाराले बताए ।

उनले भने, ‘यो एन्टिजिन टेस्ट पनि एफडिए स्वीकृत भएका, सिडिसी स्वीकृति भएका, सिएबाट स्वीकृति भएका यस्ता एन्टिजिन टेस्ट गर्ने टेस्टहरु त्यति छैनन् । यदि एन्टिजिन परीक्षण, उच्च संवेदनशिल, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले त्यस्ता टेस्टहरुको सेन्सिटिभिटी ८० प्रतिशत भन्दा माथि हुनुपर्छ भनेको छ ।’
सरकारले भने कोभिड–१९ संक्रमणको पहिचानका लागि भन्दै एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण सुरु भएको हो ।