ब्रोकरको कमिसन बढ्दा आम्दानी पनि बढ्यो

१९ मंसिर, सल्यान । सेयर बजार बढ्दा ब्रोकर कम्पनी, नेप्से, सिडिएस एन्ड क्लियरिङ (सिडिएससी), धितोपत्र बोर्ड तथा सरकारलाई हुने आम्दानी पनि बढेको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले सेयरको मूल्यसँगै कारोबार रकम बढेकाले नेप्से, ब्रोकर कम्पनी लगायतको आम्दानी बढेको जानकारी दिए ।

’बजार बढ्दा लगानीकर्ताको नाफा त बढ्ने नै भयो । सरकारले पाउने पुँजिगत लाभकर र टिडिएस पनि बढ्छ,’ उनले भने, ’नेप्से, सिडिएससी, धितोपत्र बोर्डको आम्दानी पनि बढ्छ ।’

दोस्रो, सेयर बजारबाट सरकारलाई यस आर्थिक वर्षको पहिलो चार महिनामै १ अर्ब ६४ करोड रुपैयाँ राजश्व प्राप्त भएको छ । जबकि गत वर्षको ४ महिनामा १९ करोड २९ लाख रुपैयाँ राजश्व प्राप्त भएको थियो । सरकारको यो आम्दानी ब्रोकर, नेप्से तथा सिडिएससीले तिर्ने टिडिएस र व्यक्तिगत लगानीकर्ताले तिर्ने समग्र पुँजीगत लाभकर हो ।

ब्रोकर, नेप्से, सिडिएससीले आफ्नो कमिसन आम्दानीमा १५ प्रतिशत टिडिएस तिर्ने गर्छन् । त्यस्तै व्यक्तिगत लगानीकर्ताले फाइदा लिएको सेयर मूल्यमा ५ प्रतिशत क्यापिटल गेन तिर्नुपर्छ ।

कुनै कम्पनीको सेयरमा १० हजार नाफा लिएर लगानीकर्ताले बेचेमा ५ सय रूपैयाँ क्यापिटल गेन कटौती भएर बेच्नेको बैंक खातामा रकम प्राप्त हुन्छ ।

सोबाहेक ब्रोकर कमिसन र धितोपत्र बोर्डको कमिसन कटौती हुन्छ । म्युचुअल फण्डहरूलाई भने क्यापिटल गेन नै तिर्नु नपर्ने व्यवस्था छ ।

सेयर बजार बढिरहँदा ब्रोकर कम्पनीको कमिसन आम्दानी ६.९ गुणा बढेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ब्रोकर कम्पनीहरूले २१ करोड ५८ लाख रुपैयाँ खुद कमिसनवापत आम्दानी गरेकामा यस वर्षको सोही अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ कमाएका छन् । हाल ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन् ।

हाल दैनिक ७ अर्ब रूपैयाँको हाराहारीमा सेयर कारोबार हुने गरेको छ । सेयर किन्ने र बेच्ने दुवै पक्षबाट ब्रोकर कम्पनीले कुल कारोबार रकममा ०.४ देखि ०.६ प्रतिशतसम्म कमिसन लिन्छन् । औसतमा ०.५ प्रतिशत कमिसन मान्दा ब्रोकर कम्पनीहरूले दैनिक साढे ३ करोड रुपैयाँ कमिसन लिँदै आएका छन् ।

ब्रोकरको कमिसनमा २० प्रतिशत नेप्सेलाई जान्छ भने बाँकीबाट १५ प्रतिशत सिडिएससीलाई जाने गर्छ ।

ब्रोकरले लिने कमिसन बढी भएको भन्दै शुक्रबार मात्रै लगानीकर्ताको समूहले धितोपत्र बोर्डमा पुगेर ध्यानाकर्षण गराएका छन् । उनीहरूले ब्रोकर कमिसन ०.२५ प्रतिशत कायम गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै नेप्सेको आम्दानी ६.२ गुणा बढेको छ । गत वर्षको चार महिनामा ५ करोड ३९ लाख रूपैयाँ आम्दानी गरेको नेप्सेले अहिले सोही अवधिमा ३३ करोड ८२ लाख कमाएको छ । सेयर खरिदबिक्रीमा ब्रोकरले लिने कुल कमिसनबाट २० प्रतिशत रकम नेप्सेले प्राप्त गर्छ ।

सिडिएससीले पहिले २८ लाख रुपैयाँ कमाएकोमा अहिलेको चार महिनामा १ करोड ८० लाख कमाएको छ । ब्रोकरले लिएको कमिसनबाट २० प्रतिशत नेप्सेलाई दिएपछि बाँकी रहेको रकमबाट १५ प्रतिशत सिडिएससीले लिन्छ ।

नेपाल धितोपत्र बोर्डले गत वर्षको चार महिनामा ७६ लाख रुपैयाँ आम्दानी गरेकामा अहिले बढेर ५ करोड पुगेको छ ।