Breaking News

बहुविवाहको आरोपमा सल्या कुपिण्डेका वडाध्यक्ष पक्राउ

१९ मंसिर, सल्यान । बहुविवाहको आरोपमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहेका छन् । वडाध्यक्ष कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

वडाध्यक्ष कुमाईसहित उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

घरमा दुई जना श्रीमती र दुवै श्रीमतीतर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको आरोपमा स्थानीय ५ जनाले उनीविरुद्ध बहुविवाह गरेको आरोपमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा अदालत सल्यानबाट अनुमति लिएर आरोपित दुवैजनालाई नियन्त्रणमा लिएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।