वैदेशिक रोजगारी : कोरोना कहरबीच ठगीको महामारी

१८ मंसिर, काठमाडौं । रुपन्देहीको ओमसतिया गाउँपालिका(६ का शिवनारायण चौधरी गत आइतबार पक्राउ परे । काठमाडौंको सोह्रखुट्टे बस्दै आएका उनले दुई युवकलाई पोर्चुगलमा आकर्षक काम दिलाउने भन्दै १६ लाख २५ हजार रुपैयाँ ठगेका थिए । खातामा पैसा जम्मा गराएपछि उनले जब अफर लेटर, भिसा लगायतका नक्कली कागजात दिएका थिए ।

काठमाडौंको कपन बस्दै आएका मोरङ, शनिश्चरेका नारायण खड्कालाई पनि दलालहरुले क्यानडा पठाउने विश्वासमा पारेर २१ लाख रुपैयाँ ठगे । सुर्खेतका “ध्रुव थापा, सन्ध्या थापा र सुनसरीका राजेन्ऽकुमार श्रेष्ठले उनलाई ठगेको पोल प्रहरीमा उजुरी परेपछि मात्रै खुल्यो ।

रौतहटका बिनोदमणि बस्नेत गत भदौमा सरकारले विदेश जान श्रम स्वीकृति दिन थाल्नासाथ युवाहरुसँग विदशे पठाउन भन्दै रकम असुल्न थाले । उनले विभिन्न व्यक्तिसँग पटक(पटक गरी १९ लाख रुपैयाँ ठगेका थिए । पक्राउ गरेपछि प्रहरीले उनीमाथि ठगीको कारवाही चलायो ।

आफूलाई गौशालास्थित म्यानपावर कम्पनी राजदेवी इन्टरनेश्नल प्रालिको कर्मचारी बताउने मोरङ, ग्रामथामका बुधनारायण चौधरीले कुवेत पठाइदिन्छु भन्दै ७० जना युवकसँग २(२ लाखका दरले पैसा उठाए । तर, उनले न कुवेत पठाए, न पैसा फिर्ता दिए । ठगिने युवाले कात्तिक अन्तिम साता प्रहरीकोमा उजुरी गरेपछि चौधरी पक्राउ परेका छन् ।

सर्लाही र भोजपुरका दुई युवकलाई कम्बोडियामा राम्रो कमाइ हुने काम दिलाउने भन्दै फेसबुकबाट नक्कली आईडी बनाएर ठगियो । ‘सुमन थापा’ नामको फेसबुक एकाउन्टको विश्वासमा परेर मनी ट्रान्सफरमार्फत करिब ३ लाख रुपैयाँ पठाएपछि कम्बोडिया उड्न भन्दै गत असोज अन्तिम साता उनीहरु काठमाडौं आएका थिए । त्यसपछि मात्र आफू ठगिएको उनीहरुले थाहा पाएका थिए ।

गत चैतमा लकडाउन भएपछि तीन महिना विदेशमा हवाई उडान रोकियो । त्यो अवधिमा विदेश पठाउने भन्दै हुने ठगी सुस्ताएको थियो । तर, भदौयता यस्ता ठगीका घटना निरन्तर बढेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । विदेश पठाउने भन्दै रकम ठगेको उजुरी प्रहरी र वैदेशिक रोजगार विभागमा धमाधम परिरहेको छ ।

अहिले अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएको छ । विदेशबाट थोरै संख्यामा श्रमिकको माग पनि आउन थालेको छ । कतार, यूएई, जोर्डन, ओमन लगायत देशबाट नयाँ डिमान्ड आउन थालेपछि म्यानपावरदेखि दलालसम्म सल्बलाएका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल पछिल्ला दिनमा युरोप र ल्याटिन अमेरिकाका विभिन्न देशमा पठाइदिने भन्दै व्यक्तिगत ठगीका धेरै घटना हुन थालेको बताउँछन् । ‘मलेसिया र खाडीमा पहिलेजसरी नै कतिपय म्यानपावर कम्पनी ठगीमा सक्रिय छन्,’ उनी भन्छन्, ‘अहिले युरोप र अमेरिकी देशका नाममा पनि चर्को ठगी हुन थालेको छ ।’

मौखिक उजुरी लिएर विभाग आउने कतिपय युवा लिखित दिनुस् भनेपछि त्यसै फर्किने गरेको उनको भनाइ छ । कसैलाई पैसा बुझाउनुअघि धेरै खोजबिन गर्न महानिर्देशक दाहालको सुझाव छ । ‘मानव तस्करहरुले संगठित रुपमा ठग्न सुरु गरेका छन्,’ उनी भन्छन्, ‘श्रमिक आफैं सचेत हुनुपर्छ ।’

अहिले विदेशमा पनि राम्रो कामका लागि श्रमिकको माग छैन । आकर्षक तलब सुविधाको प्रलोभन देखाएर ठग्ने काम भने भइरहेको छ । यस्तो काममा म्यानपावर कम्पनीभन्दा बढी दलालहरु सक्रिय भएको विभागको अनुभव छ ।

महामारीमा ठगी

महामारीमा बेरोजगार बसेका युवा म्यानपावर कम्पनीका धाउन थालेका छन् । ग्रामीण क्षेत्रहरुबाट दलालहरुले नै युवा समूहलाई काठमाडौं ल्याइरहेको वैदेशिक रोजगार विभागको बुझाइ छ ।

म्यानपावर कम्पनीहरुले युवाको पासपोर्ट जम्मा गर्न थालेका छन् । विदेश पठाउने भन्दै तुरुन्तै मेडिकल गर्न लगाउने र मेडिकलबाट कमिसन लिने धन्धा पनि मौलाएको छ । माग नै नभएका म्यानपावरले पनि ‘माग छ’ भन्दै युवाबाट पैसा असुल्न अनेक तिकडम गर्न थालेका छन् ।

भिजिट भिसामा यूएई पठाउने क्रम पनि बढेको छ । यूएईमा पुगेर काम नपाएपछि ठगिएको थाहा पाएका युवा विभागको सम्पर्कमा आउन थालेका छन् ।

वैदेशिक रोजगार जानकार मधुविलास पण्डित महामारी नसकिँदै ठगीको महामारी देखिन थालेको भन्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिन्छन् ।

निःशुल्क भिसा र टिकट छैन

२०७२ सालमा मलेसिया र ६ वटा खाडी मुलुकका लागि लागू भएको ‘फ्रि भिसा, फ्रि टिकट’ नारा व्यवहारिकरुपमा कार्यान्वयन नभएको पण्डित बताउँछन् । उनकाअनुसार विदेशिने कामदारलाई रोजगारदाता मुलुकले नै निःशुल्क भिसा र टिकट दिनुपर्ने नियम कार्यान्वयनमा छैन ।

सरकारले म्यानपावर कम्पनीमाथि कडाइ नगर्दा सालना हजारौं युवा लाखौं रकम बुझाएर काम खोज्दै विदेशिन बाध्य
छन् । व्यवसायीले कामदारबाट लाखौं रकम उठाएर १० हजार (तोकिएको सेवा शुल्क) को बिल थमाइदिने गरेका छन् । म्यानपावरबाट ठगिएर विदेशमा बिचल्लीमा पर्ने घटना पनि बढ्दो छ ।

विदेशमा जोखिमपूर्ण काम गर्नुपर्ने, भनेअनुसारको तलब नपाउने, कहिल्यै नसोचेको पीडा खेप्नुपर्ने, स्वदेश फर्किन कठिन हुने, कतिपय अवस्थामा जेल(सजाय भोग्नुपर्ने र ज्यानसमेत गुमाउनेसम्मका अवस्थाबाट नेपाली कामदार पीडित छन् ।

ज्यान जोगाएर फर्किएकाहरुले क्षतिपूर्ति पनि नपाउने र पाइहाले पनि पहिला बुझाएको १० हजार सेवा शुल्क फिर्ता पाउने अवस्था छ । यसबाट हजारौं नेपालीको घरबार, सामाजिक प्रतिष्ठा र दैनिक जीवनयापनमा समस्याहरु थपिएका छन् ।

विकल्पविहीन युवा

नेपाली युवाले विदेशिनुको विकल्प भेटिरहेका छैनन् । त्यसैले महामारीकै बीचमा पनि हजारौं युवा काम खोज्दै विदेश भासिएका छन् ।

गत साउनपछि करिब २२ हजार नेपाली युवा श्रमिक बन्न विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । तीमध्ये करिब ३ हजार ५०० जनाले नयाँ मागका आधारमा अन्तिम श्रम स्वीकृति लिएका थिए ।

साउनमा ३ हजार १५२ र भदौमा १ हजार ५२५ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै, असोजमा ८ हजार ९७ र कात्तिकमा ७ हजार ४८६ जनाले लिएको देखिन्छ । यसमा विदामा आएर श्रम स्वीकृति नवीकरण गर्नेहरु पनि सामेल
छन् ।

खाडीस्थित नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरण थालेकाले अब विदेशिनेका संख्या बढ्ने देखिएको छ । त्योसँगै ठगीको श्रृंखला पनि बढ्दै जाने वैदेशिक रोजगार विभागकै अधिकारीहरु बताउँछन् ।

अनलाइन खबरबाट